काठमाडौँ । प्रशान्त महासागरीय टापु राष्ट्र फिलिपिन्स पुनः एकपटक प्रकृति र महाविपत्तिको चपेटामा परेको छ । दक्षिणी फिलिपिन्सको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पले त्यस क्षेत्रमा सुनामीको ठूलो भय सिर्जना गरेको छ । शक्तिशाली धक्काका कारण तटीय क्षेत्रका भौतिक संरचनाहरूमा क्षति पुगेको छ भने समुद्री सतहमा अनपेक्षित रूपमा शक्तिशाली छालहरू उत्पन्न भएका छन् ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार सोमबार बिहान ७ः३७ बजे जनरल सान्टोस शहरको दक्षिणपश्चिम समुद्री क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको थियो । करिब सात लाख जनसङ्ख्या रहेको र दक्षिणी फिलिपिन्सको प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिने जनरल सान्टोस शहर भूकम्पको धक्काले नराम्ररी हल्लिएको छ । भूकम्पको केन्द्रविन्दु कोटाबाटो समुद्री गर्त क्षेत्रमा जमिनको सतहबाट जम्मा १० किलोमिटर गहिराइमा रहेकाले पनि यसको गम्भीरता र प्रभाव बढी देखिएको भूगर्भविद्हरूले बताएका छन् । मुख्य भूकम्पपछि ६.५ म्याग्निच्युडको शक्तिशाली परकम्पसमेत गइसकेको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले पुष्टि गरेको छ ।
हालसम्म कुनै पनि मानवीय क्षतिको आधिकारिक पुष्टि भइसकेको छैन । यद्यपि, जनरल सान्टोसमा एउटा सानो व्यावसायिक भवन आंशिक रूपमा भत्किएको र त्यहाँ मानिसहरू फसेका छन् वा छैन भन्नेबारे उद्धार टोलीले खोजी गरिरहेको छ ।
भूकम्पलगत्तै प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका कतिपय तटीय क्षेत्रमा तीन मिटरसम्म अग्ला विनाशकारी छालहरू आउन सक्ने चेतावनी जारी गरेपछि तटीय क्षेत्रमा भागदौड मच्चिएको थियो । फिलिपिन्सका साराङ्गानी र सुल्तान कुदारात क्षेत्रमा राखिएका निगरानी केन्द्रहरूले एक मिटर उचाइसम्मका सुनामी छालहरू रेकर्ड गरिसकेका छन् ।
विपद्को यस घडीमा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले देशवासीका नाममा सन्देश जारी गर्दै जोखिमयुक्त तटीय क्षेत्रका नागरिकलाई ढिलाइ नगरी तत्कालै सुरक्षित र उच्च स्थानतर्फ जान आग्रह गरेका छन् ।
यो समुद्री भूकम्पको धक्का फिलिपिन्समा मात्र सीमित रहेन, यसले छिमेकी देशहरूमा पनि सुनामीको घण्टी बजाएको छ । भूकम्पपछि मलेसियाको मौसम विभागले बोर्नियो टापुको सबाह राज्यका लागि तत्काल सुनामी चेतावनी जारी गर्यो, जुन क्षेत्र फिलिपिन्सको समुद्री सिमानासँग नजिक छ । उता, इन्डोनेसियाको सुलावेसी टापुमा ८३ सेन्टिमिटर उचाइको सुनामी छाल मापन गरिएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । मलेसिया र इन्डोनेसियाका केही तटीय क्षेत्र अझै पनि एक मिटरसम्मको छालको जोखिममा छन् ।
यसैगरी ताइवान, जापान, पपुवा न्यू गिनी तथा पश्चिमी प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा पनि समुद्री सतहमा अस्वाभाविक उतारचढाव आउन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । भौगोलिक अवस्थितिका कारण फिलिपिन्स संसारकै सबैभन्दा बढी प्राकृतिक विपद्को सामना गर्ने मुलुकमध्ये पर्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया