जेठ २५, २०८३ सोमबार June 8, 2026

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

इरानको सरकारी प्रसारण संस्थाले क्षेप्यास्त्र प्रहारको गर्यो पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, २५ जेठ (रासस/एपी) : अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरायलले जनाएको छ । यस घटनाले पुनः व्यापक युद्ध भड्किने सम्भावना बढाएको छ र शान्ति प्रयासहरूलाई जटिल बनाएको छ ।

इरानको सरकारी प्रसारण संस्थाले क्षेप्यास्त्र प्रहारको पुष्टि गरेको छ । सम्भावित जवाफी आक्रमणको तयारीस्वरूप इरानले आफ्नो पश्चिमी हवाई क्षेत्र बन्द गरेको छ । यसअघि इजरायलले लेबनानको बेरुतस्थित दक्षिणी उपनगरमा आक्रमण गरेको थियो, जसको प्रतिशोधस्वरूप क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ ।

इरानको क्रान्तिकारी सुरक्षा बलले जारी गरेको वक्तव्यमा यस्ता आक्रमण दोहोरिएमा अमेरिकी तथा इजरायली लक्ष्यहरूविरुद्ध अझ व्यापक प्रतिक्रिया दिइने चेतावनी दिएको छ ।

क्षेप्यास्त्र आक्रमणपछि इजरायलका विभिन्न क्षेत्रमा चेतावनी ध्वनि बजाइयो र लाखौं नागरिक सुरक्षित आश्रयस्थलतर्फ गएका थिए । इजरायली सेनाका अनुसार अधिकांश क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको थियो । उत्तरी क्षेत्रमा केही विस्फोटका आवाज सुनिएको बताइएको छ ।

इजरायली सेनाले इरानले गम्भीर गल्ती गरेको भन्दै आवश्यक परे कडा जवाफी कारबाही गरिने चेतावनी दिएको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई थप सैन्य प्रतिक्रिया आवश्यक नभएको संकेत दिनुभएको छ । उहाँले एक अन्तर्वार्तामा सबै प्रमुख निर्णय आफूले गर्ने बताउनुभयो ।

यस घटनाले मध्यपूर्वमा फेरि तनाव बढाएको छ र युद्धविरामको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया