जेठ २५, २०८३ सोमबार June 8, 2026

इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २५ जेठ । कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण र तयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ । योजना २०२६ जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार गरिएको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला नियन्त्रण केवल चिकित्सा प्रतिक्रिया मात्र नभई राजनीतिक प्रतिबद्धता, दीगो वित्तपोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहने स्पष्ट पारेका छन् । उनका अनुसार अफ्रिका सीडीसी र डब्लुएचओले साझेदार संस्थाहरूसँग मिलेर तयार पारेको यो योजना महामारी रोकथाम, शीघ्र पहिचान र उपचार क्षमतामा केन्द्रित छ ।

उनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको सन्देशमा इबोला नियन्त्रणका लागि स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको परिचालन र सङ्क्रमण रोकथामका उपायहरूलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए । साथै, सङ्क्रमित व्यक्तिलाई समयमै उपचारमा ल्याउन सके मृत्युदर घटाउन सकिने उनले उल्लेख गरे ।

टेड्रोसले डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेडीसँग हालै बुन्डिबुग्यो क्षेत्रमा देखिएको इबोला प्रकोपबारे विस्तृत छलफल भएको जानकारी पनि दिए । उक्त छलफलमा उपचार सेवा विस्तार, निदान क्षमता वृद्धि र स्वास्थ्य संरचनाको सुधारबारे प्रगति समीक्षा गरिएको थियो ।

उनका अनुसार केही बिरामी पहिले नै उपचारपछि निको भएर घर फर्किएका छन् । यसले प्रारम्भिक उपचार प्रभावकारी हुने सङ्केत दिएको छ । उनले महामारी नियन्त्रणसँगै अन्य स्वास्थ्य तथा मानवीय सेवाहरूलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

डब्लुएचओ प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई समन्वित सहयोग गर्न आग्रह गर्दै यात्रा वा व्यापारमा अनावश्यक प्रतिबन्धले राहत तथा उपचार प्रयासमा बाधा पु¥याउन सक्ने चेतावनी पनि दिए ।

इबोला एक गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो । यो विशेषगरी बुन्डिबुग्यो स्ट्रेनबाट फैलिन सक्छ र उच्च मृत्युदरका कारण जोखिमपूर्ण मानिन्छ । हालसम्म यस स्ट्रेनविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया