असार ५, २०८३ शुक्रबार June 19, 2026

पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय

गोप्य सैन्य जानकारी अनुचितरूपमा सार्वजनिक गरेको अभियोगमा दोषी ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, असार ५ गते । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४ मा लागु गरिएको विवादास्पद मार्सल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ-ह्युनलाई तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतले गोप्य सैन्य जानकारी अनुचितरूपमा सार्वजनिक गरेको अभियोगमा उहाँलाई दोषी ठहर गरेको हो ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतका अनुसार किमले पूर्वराष्ट्रपति युनले उठाउँदै आएको अप्रमाणित चुनावी धाँधलीसम्बन्धी दाबीको अनुसन्धान गर्न गठन गरिने विशेष टोलीसँग सम्बन्धित संवेदनशील सैन्य जानकारी एक सर्वसाधारण व्यक्तिलाई उपलब्ध गराएको ठहर गरिएको छ । अभियोजन पक्षले यसलाई राष्ट्रिय सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लङ्घन मानेको थियो ।

अदालतले सुनुवाइका क्रममा किमको कार्यले कानूनी आधार कमजोर भए पनि मार्सल ल घोषणा गर्ने वातावरण तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ । न्यायाधीशको प्यानलले उक्त गतिविधिलाई मार्सल ल कार्यान्वयनतर्फ उन्मुख गर्ने प्रमुख कारकमध्ये एक मानेर तीन वर्षको कारावास सजाय सुनाएको हो । यसअघि अभियोजनकर्ताले उहाँलाई पाँच वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए ।

पूर्वराष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा चुनावी अनियमितताको आरोपलाई आधार बनाउँदै मार्सल ल घोषणा गर्नुभएको थियो । तर संसद् सदस्य आपतकालीन बैठकका लागि राष्ट्रिय सभामा पुगेपछि गरिएको मतदानबाट उक्त निर्णय करिब छ घण्टामै निष्क्रिय बनाइएको थियो । त्यस घटनाले देशलाई गम्भीर राजनीतिक सङ्कटमा धकेलेको थियो ।

मार्सल ल घोषणापछि देशभर विरोध प्रदर्शन चर्किएको थियो, वित्तीय बजारमा गिरावट आएको थियो र दक्षिण कोरियाका प्रमुख साझेदार राष्ट्रसमेत आश्चर्यमा परेका थिए । विशेष गरी संयुक्त राज्य अमेरिकासहितका सहयोगी मुलुकले घटनाप्रति चिन्ता व्यक्त गरेका थिए । उक्त घटनापछि पूर्वराष्ट्रपति युनमाथि विद्रोहको नेतृत्व गरेको अभियोग लगाइएको थियो ।

हाल उहाँ दोषी ठहर भइसकेको अवस्थामा आजीवन कारावासको सजायविरुद्ध अपिल प्रक्रियामा रहँदा हिरासतमा हुनुहुन्छ । किम योङ-ह्युनमाथि भने मार्सल लसँग सम्बन्धित अर्को छुट्टै मुद्दामा यस वर्षको सुरुआतमै ३० वर्षको जेल सजाय सुनाइएको थियो । पछिल्लो फैसला उहाँविरुद्धको अर्को कानूनी कारबाहीअन्तर्गत आएको हो ।

दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा सबैभन्दा विवादास्पद मानिएको मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दा अझै अदालतमा विचाराधीन छन् । पछिल्ला फैसलाले त्यस घटनामा संलग्न उच्च राजनीतिक तथा सुरक्षा अधिकारीमाथि न्यायिक निगरानी अझ कडा बन्दै गएको सङ्केत गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया