असोज ५, २०८३ सोमबार September 21, 2026

कतारको बार्जान ग्यास प्लान्टमा आगलागी, दर्जनौं घाइते

कतार र इरानले पर्सियन खाडीमा अवस्थित विशाल अपतटीय प्राकृतिक ग्यास क्षेत्र साझा गर्दै आएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुबई। कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् ।

घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली प्रभावित भएपछि यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत पर्न सक्ने देखिएको छ ।

रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास सुविधामा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको हो । युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित बनेको उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनःसञ्चालनको काममा जुटिरहेका थिए ।

कतार एनर्जीका अनुसार बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिएको थियो । प्रारम्भिक विवरणमा केही व्यक्तिमात्र घाइते भएको जनाइएको भए पनि केही घण्टापछि कतारको गृह मन्त्रालयले घाइतेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ । बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन । यद्यपि, उक्त घटनाले कतारको ऊर्जा पूर्वाधारमा पुनः गम्भीर असर पारेको आशङ्का गरिएको छ ।

इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कडा बनाएपछि कतारले केही समयअघि ग्यास उत्पादन र निर्यात गतिविधि रोकेको थियो । त्यसका कारण आफ्ना अन्तर्राष्ट्रिय ग्राहकसम्म ग्यास आपूर्ति गर्न कठिन भएपछि उत्पादन स्थगित गरिएको थियो । पछिल्लो समय युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अगाडि बढ्दै जाँदा इरानले जलघाँटीमा आफ्नो नियन्त्रण केही खुकुलो पारेपछि कतारले पुनः निर्यात सञ्चालन गर्ने तयारी थालेको थियो ।

बार्जान ग्यास प्लान्टको दैनिक उत्पादन क्षमता करिब एक अर्ब ४० करोड मानक घनफिट बिक्रीयोग्य ग्यास रहेको थियो । उक्त ग्यास मुख्यतः घरेलु विद्युत् उत्पादन तथा अरब प्रायद्वीपका मरुभूमि क्षेत्रमा सञ्चालन हुने महत्त्वपूर्ण पानी प्रशोधन तथा डिसेलिनेसन केन्द्रहरू सञ्चालन गर्न प्रयोग हुँदै आएको छ ।

उक्त प्लान्टको अधिकांश स्वामित्व कतारसँग रहेको छ भने अमेरिकी ऊर्जा कम्पनी एक्सोनमोबिलको पनि सानो हिस्सेदारी रहेको छ । घटनापछि कम्पनीसँग प्रतिक्रिया मागिए पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

यसअघि मार्च महिनामा इरानले प्रहार गरेको एक क्षेप्यास्त्र रस लाफान क्षेत्रमा खसेर ठूलो आगलागी भएको थियो । अधिकारीहरूका अनुसार त्यस घटनाले व्यापक क्षति पुर्‍याएको थियो । त्यही आक्रमणपछि कतारले उक्त क्षेत्रमा उत्पादन गतिविधि रोक्न बाध्य भएको थियो ।

कतार र इरानले पर्सियन खाडीमा अवस्थित विशाल अपतटीय प्राकृतिक ग्यास क्षेत्र साझा गर्दै आएका छन् । यही प्राकृतिक ग्यास भण्डारले कतारलाई विश्वकै धनी राष्ट्रहरूमध्ये एक बनाएको छ । ऊर्जा आम्दानीकै आधारमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गरेको थियो भने अल जजीरा समाचार सञ्जालको स्थापना तथा विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक मध्यस्थतामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

हालको विस्फोटले कतारको ऊर्जा उत्पादन, निर्यात क्षमता र विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ । युद्धपछिको पुनःस्थापनाको प्रयास भइरहेका बेला भएको यो दुर्घटनाले क्षेत्रीय अस्थिरताको असर ऊर्जा पूर्वाधारमा अझै कायम रहेको सङ्केत गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
२०८३ असोज ५, सोमबार
नवलपरासीमा ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते
२०८३ असोज ५, सोमबार
नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न
२०८३ असोज ५, सोमबार
‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण
२०८३ असोज ५, सोमबार
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
२०८३ असोज ५, सोमबार
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
२०८३ असोज ५, सोमबार
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
२०८३ असोज ५, सोमबार