असार १९, २०८३ शुक्रबार July 3, 2026

कांग्रेस विवाद: संस्थापनले नकुर्ने इतरले नटेर्ने

१४औं महाधिवेशन र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गर्न प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुलुकको पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस आन्तरिक किचलोमै छ।  गत पुसमा सम्पन्न विशेष महाधिवेशनसँगै चुलिएको कांग्रेस विवाद समाधानभन्दा विभाजन उन्मुख छ।  विशेष महाधिवेशनको पक्ष र विपक्षमा रहेका नेताहरूबिचको मतभेदले पार्टीमा गतिरोध उत्पन्न भएको छ।  विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई पनि समायोजन गरी १५औं महाधिवेशनमा जानुपर्ने प्रस्तावमा सहमति जुट्न नसक्दा मतभेद बढ्दै गएको छ।

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरू १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई पनि विशेष महाधिवेशनबाट निर्वाचित समितिमा समायोजन गर्नुपर्ने अडानमा छन् तर विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व यो प्रस्ताव स्विकार्न तयार छैन।  पुरानो समितिका एक सय ११ जनालाई नै समायोजन नगर्ने अडानमा नयाँ नेतृत्व छ।  नयाँ नेतृत्वले विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्णबहादुर खड्का, शेखर कोइरालासहितका केही नेतालाई केन्द्रीय समितिमा समेटेर १४औं महाधिवेशनमा जुट्न चाहेको छ।  पार्टी सभापति गगनकुमार थापासहितका नेताहरूले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूसँग छलफल गरिरहेका छन्।  पछिल्लो समय महामन्त्री गुरुराज घिमिरेले कोइराला,खड्का, कृष्णप्रसाद सिटौलासहितका नेतासँग छलफल गरेका छन्।

छलफलका क्रममा नेताहरूले १४औं महाधिवेशन र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गर्न प्रस्ताव राखेको महामन्त्री घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार समायोजनसँगै १५औं महाधिवेशनको वातावरण बन्ने भनाइ नेताहरूबाट व्यक्त भएको छ।  पार्टीभित्र एकताको पक्षमा आफूहरू रहेको जनाउँदै घिमिरेले भने, ‘तर विधानको प्रतिकूल पुरानो समितिका सबै १११ जनालाई समायोजन गर्ने कुरा कठिन छ।’

खड्का र सिटौलाले पार्टी एकता जोगाउन विधानको व्यवस्था निलम्बन गरेर भए पनि समायोजन गर्नुपर्ने अडान राखेका छन्।  उनीहरूले यसलाई नै एकताको ‘बटमलाइन’ भनेका छन्।  कोइराला भने यसमा केही लचिलो देखिएको संस्थापन पक्षका नेताहरूको दाबी छ।  संस्थापन पक्षका अनुसार कोइरालाले महाधिवेशनका लागि संयन्त्र बनाएर अघि बढ्न सकिने प्रस्ताव अघि सारेका छन्।  संस्थापन पक्ष भने कोइराला र खड्कालाई वरिष्ठ नेताको सम्मान दिँदै विधानको सीमाभित्र रहेर बाँकी केही नेतालाई मात्र केन्द्रीय समितिमा समेट्ने पक्षमा छन्।  सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले पुरानो कार्यसमिति पुरैलाई समायोजन गर्नुपर्ने कुरा व्यावहारिक नभएको निकटसँग बताउँदै आएका छन्।  पुरानो कार्यसमिति समायोजन गर्दा खड्कालाई उपसभापतिको भूमिकामा दिनुपर्छ।  ‘त्यसो गर्दा विशेष महाधिवेशन हामी (गगनकुरमार थापा र विश्वप्रकाश शर्मा) सभापति र उपसभापति बन्न मात्र भएजस्तो देखिन्छ।  हामी त्यसको पक्षमा छैनौं।’

संस्थापन पक्ष विशेष महाधिवेशनको विपक्षमा रहेका सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतलाई केन्द्रीय समितिमा ल्याउने पक्षमा नरहेको निकट स्रोतको दाबी छ।  पुरानो समितिका सबैलाई समेट्नु पर्छ भन्ने अडान एकताको विपक्षमा रहेको बताउँदै संस्थापन निकट एक नेताले भने, ‘पार्टी अब कुरा सानातिना कुरामा अल्झिनु हुँदैन भन्ने मत बलियो हुँदै गएको छ।’

विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरू पार्टी निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता छानबिन समितिसहितका निकाय दुवै पक्षको सहभागिता हुनेगरी पुनर्गठन गर्नुपर्ने पक्षमा छन्।  यसमा संस्थापन पक्ष लचिलो देखिएको छ। क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरणको काम पहिला नै टुंगिएकाले त्यसकै आधारमा महाधिवेशन गर्नुपर्ने असन्तुष्ट पक्षको अर्को प्रस्ताव छ। प्रतिनिधिसभा सदस्य निर्वाचन आसपासमा पार्टी प्रवेश गरेका र सदस्यता लिन वा नवीकरण गर्न चाहेकालाई मात्र नयाँ सदस्यता दिनुपर्ने माग असन्तुष्ट पक्षको छ।  प्रस्ताव र माग सम्बोधन गर्न सभापति पक्ष तयार नरहेको र सदस्यता अद्यावधिक नाममा अर्को पक्षलाई जबरजस्ती अलग्याउने प्रयासमा लागेको आरोप असन्तुष्ट पक्षको छ।

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरू काठमाडौं महाराजगन्ज नजिकै सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर गृहकार्यमा जुटेका छन्।  नेता खड्काले शुक्रबार निकट नेताहरूको बैठक आफ्नै निवासमा बोलाएका छन्।  बैठकमा चुनदेवीमा रहेको सम्पर्क कार्यालय सञ्चालनसँगै राष्ट्रिय भेलाको निर्णय लिनेछ।  १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सोही कार्यालयबाट गर्ने उनीहरूको तयारी छ। पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरू १५औं महाधिवेशन बृहत एकताको होस् भन्ने पक्षमा रहेको बताए।  आफूहरूका तर्फबाट नेता खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई एकताको प्रस्ताव पठाएको जानकारी निधिले दिए।  तर अर्को पक्ष विभिन्न जालझेल गरेर अलमल्याउने पक्षमा लागेको उनको आरोप छ।  निधिका अनुसार बिहीबार शशांक कोइराला, प्रकाशमान सिंहसहितको छलफलमा यही चिन्ता व्यक्त भएको थियो।  उनले भने, ‘हामी कांग्रेसभित्र बृहत् एकताको पक्षमा छौं।’

महामन्त्री घिमिरेले बाहिर आए जस्तो पार्टी फुटाउने, फुट्ने भन्ने अवस्था नरहेको बताए।  सबै नेताहरूले पार्टीलाई एकढिक्का बनाउने कुरामै जोड दिएको आफूले पाएको बताउँदै घिमिरेले भने, ‘हामीले छलफल गरेका छौं। उहाँहरूले भनेका सबै कुरालाई सम्बोधन गर्न नसकिए पनि अधिकांश सम्बोधन गरिन्छ।  त्यसमा उहाँहरू सहमत हुनुभयो भने त निकास आइहाल्यो र आउँछ।’ नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया