असार २२, २०८३ सोमबार July 6, 2026

पाँच वर्षमा भित्रिए दुई दर्जन अन्तर्राष्ट्रिय होटल ब्रान्ड

तारेस्तरका होटल तथा रिसोर्टको संख्या ३ सय ३५, थप ४१ होटल तथा रिसोर्ट अनुमति प्रक्रियामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्रिने क्रम उल्लेख्य बढेको छ । सन् २०२० यता मात्र दुई दर्जनभन्दा बढी त्यस्ता ठूला अन्तर्राष्ट्रिय ‘होटल चेन’ नेपाल भित्रिएका छन् ।

कोभिड १९ महामारी र त्यसयता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाल भित्रिएका हुन् । पर्यटन विभागका अनुसार अहिले देशभर ४१ वटा नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन् । तीमध्ये धेरै अन्तर्राष्ट्रिय ‘होटल चेन’सँग व्यवस्थापन सम्झौताको तयारीमा छन् । विभागमा दर्ता रहेका तारेस्तरका होटल तथा रिसोर्टको संख्या ३ सय ३५ पुगेको छ ।

एक महिनाअघि संसारभर ९ हजार ८ सयभन्दा बढी होटल व्यवस्थापन गरिरहेको मेरियटका अध्यक्ष डेभिड मेरियट नै उपस्थित भएर तीन वटा प्रिमियम ब्रान्ड सञ्चालनको सम्झौता गरेका छन् भने उनले अन्य पूर्वाधारको भ्रमण पनि गरे । यो नेपालको होटल व्यवस्थापनको क्षेत्रमा निकै उच्चमध्येको एक भ्रमण थियो । ‘नेपालमा प्रचुर सम्भावना छ र हामी थप सेवा विस्तार गर्न चाहन्छौं,’ नेपाल भ्रमणका क्रममा डेभिडले कान्तिपुरसँग भनेका थिए ।

मेरियटअन्तर्गत अहिले काठमाडौंमा मात्र फेयरफिल्ड, मोक्सी, मेरियट काठमाडौं र अलफ्ट सञ्चालनमा छन् । अध्यक्ष डेभिडकै उपस्थितिमा चौधरी समूहसँगको साझेदारीमा मेरियटअन्तर्गतकै रिट्ज–कार्लटन र वेस्टिन सञ्चालन गर्ने सम्झौता भएको थियो । त्यस्तै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानी रहेको होटलमा मेरियटकै लक्जरी कलेक्सन रहने निश्चित भएपछि डेभिडले लैनचौरमा निर्माणाधीन होटल भवनको निरीक्षण पनि गरेका थिए ।

हाल तीन ब्रान्डमा सेवा दिइरहेको एमएस समूहले नै जेडब्लु मेरियट पनि ल्याउने भएको छ । समूहका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार मेरियट नेपालमा प्रवेश गरेपछि अन्य व्यवसायीले पनि आफ्ना नयाँ होटल अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध गराउने प्रतिस्पर्धा बढेको छ । काठमाडौं मात्रै होइन, रूपन्देही, पोखरा, चितवन, जनकपुर, इटहरी, धनगढी, मुस्ताङ र धुलिखेलसम्म अन्तर्राष्ट्रिय होटल ब्रान्ड विस्तार भइरहेका छन् । हाल सञ्चालनमा रहेका, निर्माणाधीन तथा व्यवस्थापन सम्झौता भइसकेका परियोजनासहित उपत्यकामा करिब डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय होटल ब्रान्ड आबद्ध छन् । यीसहित कम्तीमा दुई दर्जनभन्दा बढी विदेशी ब्रान्ड नेपाली होटलको व्यवस्थापनमा आएका छन् ।

यी होटल विदेशी कम्पनीले निर्माण गरेका भने होइनन् । एमएस समूहका अध्यक्ष अग्रवालका अनुसार, लगानी, जग्गा र स्वामित्व नेपाली व्यवसायीकै हुन्छ । विदेशी होटल चेनले आफ्नो ब्रान्ड, अन्तर्राष्ट्रिय बिक्री सञ्जाल, व्यवस्थापन प्रणाली, सञ्चालन मापदण्ड र विश्वव्यापी ग्राहक नेटवर्क उपलब्ध गराउँछन् । त्यसबापत उनीहरूले व्यवस्थापन शुल्क, रोयल्टी तथा सेवा शुल्क लिन्छन् ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह अन्तर्राष्ट्रिय होटल ब्रान्डको नेपालमा चासो बढेको बताउँछन् । ‘पहिले विदेशी ब्रान्ड काठमाडौंमा सीमित थिए, अहिले नयाँ होटल परियोजना सुरु हुनासाथ कुन अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउने भन्ने विषय पहिलो प्राथमिकता बन्न थालेको छ,’ शाह भन्छन् ।

काठमाडौंपछि रूपन्देहीमा विदेशी ब्रान्डको आकर्षण बढी देखिन्छ । भैरहवा र बुटवल क्षेत्रमा हायात रिजेन्सी, हायात प्यालेस, मेरियट, क्राउन प्लाजा, गोल्डेन ट्युलिप, क्राउन प्लाजा, रमादा, होलिडे इन लगायतका ब्रान्डले सेवा दिएका वा दिने तयारी गरेका छन् ।

२०५९ देखि हायात रिजेन्सी काठमाडौंमा सञ्चालन रहेकामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेपछि पुनर्निर्माण गरेर सेवा सुचारु गर्ने तयारीमा छ । सोही आन्दोलनका क्रममा हिल्टन पनि क्षतिग्रस्त भएको छ । बेलायतमा मुख्यालय रहेको इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) ले पनि नेपालमा तीव्र विस्तार गरिरहेको छ । आईएचजी अन्तर्गत होलिडे इन, इन्टरकन्टिनेन्टल र क्राउन प्लाजा ब्रान्ड पर्छन् ।

एक समय काठमाडौंको सोल्टी होटल क्राउन प्लाजाअन्तर्गत सञ्चालन भएको थियो । अहिले भने सोल्टी आफ्नै नेपाली ब्रान्डमा सञ्चालन भइरहेको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार अहिले सोल्टीले नेपालका १० होटल तथा जर्मनीको फ्र्यांकफर्टमा रहेका दुई होटल आफ्नै ब्रान्डमा सञ्चालन गरिरहेको छ ।

उनका अनुसार सोल्टीले गत वर्षदेखि मेरियटको अटोग्राफ कलेक्सनको ग्लोबल बुकिङ प्लेटफर्म भने प्रयोग गरिरहेको छ । ‘यसले होटलको व्यवस्थापन गर्दैन, मेरियटका सदस्यले सोल्टी बुक गर्न र आफ्नो लोयल्टी पोइन्ट प्रयोग गर्न मात्रै पाउँछन्,’ उनले भने ।

आईएचजीले सुदूरपश्चिममा पनि प्रवेश गरिसकेको छ । धनगढीमा चौलानी समूहसँगको साझेदारीमा निर्माणाधीन पाँचतारे होलिडे इन सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डेड पाँचतारे होटल बन्ने तयारीमा छ ।

थाइल्यान्डको होटल समूह दुसित इन्टरनेसनलले नेपालमा दुई फरक ब्रान्डमार्फत उपस्थिति जनाएको छ । धुलिखेलस्थित हिमालयन रिसोर्ट दुसित थानीअन्तर्गत सञ्चालन भइरहेको छ । त्यस्तै, लाजिम्पाटस्थित ल्हासा होटल सन् २०२३ यता दुसित प्रिन्सेस ब्रान्डमा सञ्चालन भइरहेको छ । दुसित समूह थाई आतिथ्यता र अन्तर्राष्ट्रिय सेवा मापदण्डको संयोजनका लागि परिचित छ ।

भारतीय होटल समूह आईएचसीएल (इन्डियन होटल्स कम्पनी लिमिटेड) अन्तर्गतको ताज होटल्सले चितवनस्थित मेघौली सेराई सञ्चालन गरिरहेको छ । यसै समूहको भिभान्ता ब्रान्डले झम्सीखेलमा चौधरी समूह र एनई समूहको संयुक्त लगानीमा बनेको होटल व्यवस्थापन गर्दै आएको छ ।

काठमाडौंबाहिर क्षेत्रीय बजारलाई लक्षित गर्दै भारतकै क्लार्क्स होटल्स एन्ड रिसोर्ट्स, लेमन ट्री, मौर्य र एक्मी जस्ता होटल व्यवस्थापन कम्पनीले पनि नेपाली होटलसँग साझेदारी बढाइरहेका छन् । विन्डहम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रमाडा ब्रान्डले नेपालमा सेवा विस्तार गरिरहेको छ । काठमाडौंको ठमेल र धुम्बाराहीमा रमाडा सञ्चालनमा छन् । यससँगै इटहरीमा निर्माणाधीन रमाडा बाई विन्डहम बन्ने तयारीमा छ ।

फ्रान्सको लुभ्र होटल्स समूहअन्तर्गतको लक्जरी ब्रान्ड रोयल टुलिपको विस्तार पनि तीव्र छ । गत वर्षदेखि ग्वार्कोस्थित गुण समूहको होटल रोयल टुलिपअन्तर्गत सञ्चालनमा आएको छ । यही ब्रान्डअन्तर्गत चितवनमा पनि रिसोर्ट सञ्चालनमा छ भने जनकपुरधाम र भैरहवामा सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । त्यस्तै अमेरिकी बेस्ट वेस्टर्नले गौशाला र गोदावरीमा दुई होटल सञ्चालन गरिरहेको छ ।

यसैगरी, र्‍याडिसन होटल पहिलेदेखि नै नेपालमा सञ्चालनमा छ । अकोर समूहअन्तर्गतको मर्क्यॅरले पनि नेपाल प्रवेश गरेको छ । काठमाडौंको सुकेधारामा व्यवसायी अजित बस्नेत लगायतको लगानीमा मर्क्युर होटल सञ्चालनमा छ । कम्बोडियाबाट सुरु भएको सिन्टामणि अहिले यती समूहअन्तर्गतको शेर्पा हस्पिटालिटीसँगको साझेदारीमा मुस्ताङमा सञ्चालन भइरहेको छ ।

आईईजी समूहका अध्यक्ष अमृतरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिएपछि होटलले विश्वभरका लाखौं ग्राहकसम्म एकै पटक पहुँच पाउँछन् । ‘ब्रान्डिङ भएपछि होटल एउटा अन्तर्राष्ट्रिय बुकिङ नेटवर्कमा जोडिन्छ । एउटा इमेल वा अनलाइन प्रणालीमार्फत विश्वभरबाट बुकिङ आउन थाल्छ । त्यसले अकुपेन्सी बढाउँछ, कारोबार बढाउँछ र लगानीको जोखिम घटाउँछ,’ उनले भने ।

उनका अनुसार अहिले विश्वका ठूला होटल चेनहरू आफैं होटल बनाउनभन्दा स्थानीय लगानीकर्तासँग साझेदारी गर्न रुचाउँछन् । पर्यटन विभागका निर्देशक तथा होटल महाशाखा प्रमुख हिमाल गौतमका अनुसार विदेशी होटल ब्रान्ड र नेपाली होटलबीच हुने सम्बन्ध व्यवस्थापन सेवाको हो । सोही सम्झौताअनुसार उनीहरूले व्यवस्थापन शुल्क, कमिसन वा रोयल्टी लिन्छन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री डा वाग्ले र एडिबीका अध्यक्षबीच भेटवार्ता
२०८३ असार २२, सोमबार
बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख युनुसविरुद्ध अदालतमा उजुरी दर्ता
२०८३ असार २२, सोमबार
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
२०८३ असार २२, सोमबार
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
२०८३ असार २२, सोमबार
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार