काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालले लायन वर्ष २०२६–२७ को सुरुवातमै विश्वस्तरमा नयाँ इतिहास रच्न सफल भएको छ। कार्यकाल सुरु भएको केही दिनमै तय गरिएको लक्ष्यलाई पार गर्दै ३१ वटा नयाँ क्लब चार्टर गर्न सफल भएपछि डिष्ट्रिक्ट ३२५ के विश्वभरका लायन्स डिष्ट्रिक्टमध्ये सबैभन्दा धेरै नयाँ क्लब विस्तार गर्ने डिष्ट्रिक्टका रूपमा स्थापित भएको हो ।
डिष्ट्रिक्टले लायन वर्ष २०२६-२७ का लागि २९ वटा नयाँ क्लब स्थापना गर्ने लक्ष्य लिएको थियो। तर, समन्वय, योजनाबद्ध अभियान र सदस्यहरूको सक्रिय सहभागिताका कारण लक्ष्यभन्दा दुई क्लब बढी स्थापना गर्दै ३१ नयाँ क्लब चार्टर गर्न सफल भएको हो। यस उपलब्धिलाई नेपाली लायन्स इतिहासकै एक महत्वपूर्ण र गौरवपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले सार्वजनिक गरेको धन्यवाद तथा आभार सन्देशमा यो सफलता कुनै एक व्यक्तिको प्रयासको परिणाम नभई सम्पूर्ण लायन्स परिवारको साझा मेहनत, समर्पण र एकताको प्रतिफल भएको उल्लेख गरेका छन्। उनले क्लब अध्यक्ष, चार्टर सदस्य, जोन तथा रिजन चेयरपर्सन, डिष्ट्रिक्ट क्याबिनेट, विभिन्न कमिटी, प्रशिक्षक तथा सम्पूर्ण सदस्यहरूको अथक योगदानप्रति आभार व्यक्त गरेका छन्।
गभर्नर अधिकारीका अनुसार विश्वमै पहिलो स्थान हासिल गर्नु अन्तिम गन्तव्य नभई सेवाको नयाँ अध्यायको सुरुवात हो। उनले आगामी दिनमा सदस्यता विस्तारसँगै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, युवा नेतृत्व विकास, विपद् व्यवस्थापन, रक्तदान तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाइने प्रतिबद्धता जनाएका छन्।
यस सफलतापछि डिष्ट्रिक्ट ३२५ केलाई अनुभवी, सक्षम र दूरदर्शी नेतृत्व भएको डिष्ट्रिक्टका रूपमा पनि व्यापक चर्चा हुन थालेको छ। यो डिष्ट्रिक्ट पूर्व अन्तर्राष्ट्रिय निर्देशक (Past International Director) बालकृष्ण बुर्लाकोटीको होम डिष्ट्रिक्ट हो। उहाँको अन्तर्राष्ट्रिय अनुभव, मार्गदर्शन र नेतृत्वले डिष्ट्रिक्टलाई निरन्तर ऊर्जा प्रदान गर्दै आएको लायन्सकर्मीहरूको भनाइ छ।
त्यसैगरी, डिष्ट्रिक्टको वर्तमान नेतृत्व टोली पनि अत्यन्त सशक्त मानिएको छ। प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरी फुँयाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर हसन कुमार गोपाली, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिसी तथा कोषाध्यक्ष चुडामणि सिलवालसहितको नेतृत्व टोलीले सदस्यता विस्तार, संगठन सुदृढीकरण र सेवा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताइएको छ।
डिष्ट्रिक्ट ३२५ केमा शिक्षा, स्वास्थ्य, कानुन, बैंकिङ, उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास लगायत विभिन्न क्षेत्रका अनुभवी व्यवसायी, विज्ञ र पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको छ। यही विविध अनुभव, आपसी सहकार्य, सहयोगी भावना र सेवाप्रतिको समर्पणले डिष्ट्रिक्टलाई विश्वस्तरीय सफलता हासिल गर्न महत्वपूर्ण आधार प्रदान गरेको लायन्सकर्मीहरूको विश्वास छ।
लायन्स इन्टरनेशनल विश्वका सबैभन्दा ठूलो स्वयंसेवी सेवा संस्थामध्ये एक हो। नेपालका विभिन्न डिष्ट्रिक्टहरूले पनि सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। तीमध्ये डिष्ट्रिक्ट ३२५ केको यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय लायन्स समुदायमा थप गौरवान्वित बनाएको छ।
विश्वकै नम्बर–१ क्लब विस्तार गर्ने डिष्ट्रिक्टको पहिचानसँगै अब डिष्ट्रिक्ट ३२५ के नेपालले सदस्यता विस्तारलाई मात्र होइन, गुणस्तरीय सेवा, प्रभावकारी नेतृत्व विकास र दिगो सामाजिक परिवर्तनका अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ। यो सफलताले नेपाली लायन्सबादलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया