काठमाडौं । बाढीको जोखिमबाट जोगाउने भन्दै होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासी परिवारहरू त्यहीँ डुबानमा परेका छन् । लगातारको वर्षापछि होल्डिङ सेन्टरभित्रै पानी पसेपछि त्यहाँ बसोबास गरिरहेका परिवारले व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । एउटा खोलाको जोखिमबाट जोगाउने भन्दै स्थानान्तरण गरिए पनि अहिले उनीहरू थप समस्यामा परेका हुन् । ‘एउटा खोलाले बगाउँछ भनेर यहाँ ल्याइयो, अहिले त तीनवटा खोलाको बीचमा पर्यौँ’, एक पीडितले हिमालय टाइम्ससँग गुनासो पोखे । सुकुम्बासीहरू फेरि एकपटक विस्थापित हुनुपर्ने यो अवस्था प्राकृतिक विपद्को परिणाम मात्र नभई सरकारी नीतिको र अस्थायी व्यवस्थापनको कमजोरी पनि हो ।
अविरल वर्षासँगै बागमती नदीमा आएको बाढी पसेपछि काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर पूर्णरूपमा डुबानमा परेको हो । सुरक्षित बासस्थानको खोजीमा त्यहाँ आश्रय लिएका दर्जनौँ सुकुम्बासी परिवार एकै रातमा फेरि सडकमा आएका छन् । शुक्रबार रातिदेखि नदीको जलस्तर बढ्दै गएपछि मध्यरातमा होल्डिङ सेन्टरभित्र पानी पसेको थियो । यस घटनाले अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीहरूको विचल्ली भएको छ । यसले राज्यको विपद् व्यवस्थापन र सुकुम्बासी नीतिको क्षमतामाथि पनि गम्भीर प्रश्न उब्जाएको छ ।
बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो । तर, सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन् । राति करिब १२ बजेतिर बाढीको पानी होल्डिङ सेन्टरमा पस्न थालेको थियो । हेर्दाहेर्दै घुँडासम्म पानी जमेपछि त्यहाँ रहेका मानिसमा हाहाकार मच्चिएको थियो । अचानक बाढी पस्दा धेरैले आफ्ना घरायसी सामान सुरक्षित स्थानमा सार्नसमेत पाएनन् । बाढीका कारण ओढ्ने, ओछ्याउने, लत्ताकपडा, खाद्यान्न र अत्यावश्यक औषधीहरू पूर्णरूपमा भिजेर नष्ट भएका छन् । १५ दिनका लागि भनेर ल्याइएका सुकुम्बासीहरू तीन महिनासम्म पनि त्यहीँ कष्टकर जीवन बिताउन बाध्य थिए । त्यसमाथि प्राकृतिक विपत्तिले उनीहरूको बाँच्ने आधार नै भत्काइदिएको छ ।
मध्यरातको चीत्कार र सुरक्षाकर्मीको उद्धार
बाढी पसेर डुबानको जोखिम बढेपछि सुरक्षाकर्मीले रातारात उद्धार अभियान सञ्चालन गरेका थिए । गृह मन्त्रालयका अनुसार शुक्रबार राति १ बजेर ३८ मिनेटमा डुबानको आधिकारिक सूचना प्राप्त भएको थियो । त्यसपछि तत्कालै दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापनसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी कुल ६० जनाको संयुक्त टोली घटनास्थलमा खटाइएको थियो । यद्यपि, पीडितहरूको गुनासो भने अलि फरक छ ।
होल्डिङ सेन्टरमा आश्रय लिनुभएकी गृभानिका थापा मगरले १२ बजेतिरै बाढी पसे पनि सुरक्षाकर्मीहरू राति करिब २ बजेपछि मात्रै पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीहरूले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश सामग्री काम नलाग्ने गरी बिग्रिएका छन् । सुकुम्बासीहरूले नै एकअर्काको सामान निकाल्ने प्रयत्न गर्नुभएको थियो ।’
उद्धार टोलीले होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको छ । अन्य ६ जना भने आफन्तको घर वा नजिकैको होस्टलमा बस्न गएका छन् । बाँकी रहेका ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको अलि सुरक्षित स्थानमा बसिरहेका छन् । त्रिविको स्मृति भवनमा पनि सुत्ने र बस्ने पर्याप्त ठाउँ नभएका कारण धेरै जना गएर उभिएरै रात काट्न बाध्य हुनुपरेको थियो । सोही कारण कतिपयले त्यहाँ जानुभन्दा डुबानकै बीच सेन्टरमै बस्न रुचाएको बताएका छन् । शनिबार बिहानदेखि बागमती नदीको बहाव केही घटेपछि प्रभावित परिवारले सेन्टरभित्र रहेका आफ्ना भिजेका लत्ताकपडा र खाद्यान्न निकालेका थिए । घटनापछि होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति गराइएको छ ।
सरकारी नीतिको मार र विस्थापितको पीडा
सरकारले गत वैशाख १२ गते काठमाडौंका नदी र खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसिरहेकाहरूलाई कीर्तिपुर, इचंगु, खरिपाटी, बनेपा र नगरकोटका होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको थियो । तर, असार ८ गते सरकारले एक सूचना जारी गर्दै उनीहरूलाई पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दियो । सुकुम्बासीहरूले जाने ठाउँ नभएर होल्डिङ सेन्टर नछाडेपछि थप तीन दिनको समय दिइएको थियो ।
अहिले सरकारले उनीहरूलाई होल्डिङ सेन्टर छाडेर जान दबाब दिनका लागि खाना र पानीको व्यवस्थासमेत कटौती गरिसकेको छ । भित्तामा सूचना टाँसेर सेन्टर खाली गर्न उर्दी जारी गरिएको छ । पुनःस्थापनाका लागि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिने र त्यसपछि तीन महिनासम्म कोठा भाडाबापत मासिक १५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । यद्यपि, सबै सुकुम्बासीहरूले उक्त २५ हजार रुपैयाँ लिएका छैनन् । काठमाडौंमा अहिले कोठा पाउन निकै मुस्किल छ । सुकुम्बासी भनेपछि घरबेटीहरूले गेटबाटै फर्काइदिने गरेको उनीहरूको दुःखेसो छ । घर भाडामा नपाइने र जाने कुनै निश्चित ठाउँ नभएका कारण उहाँहरू होल्डिङ सेन्टरमै कष्ट सहेर बस्न बाध्य छन् ।
सेन्टरमा मुटु रोगी, मिर्गौलाका बिरामी र दमका रोगीसमेत छन् । लगातारको वर्षापछिको चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । पीडितहरूले आफूहरूमाथि अमानवीय व्यवहार भएको र मर्नु न बाँच्नुको अवस्था सिर्जना गरिएको भन्दै सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । उनीहरूले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘यो खालको बर्बरता कहिलेसम्म सहने ? के हामी नदीमा हाम फालेर मर्नुपर्ने हो ? हाम्रा पनि बालबच्चा छन्, हामी कुकुर बिरालो होइनौँ ।’ सुकुम्बासी आफैँ भागेर जान्छन् भन्ने मनसायले सरकारले यस्तो कठोर नीति ल्याएको उनीहरूको आरोप छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया