काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ को एड्भाइजरी काउन्सिल बैठक चितवनस्थित रिजेन्ता रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। डिष्ट्रिक्ट चिफ एड्भाइजर मिनराज काफ्लेको अध्यक्षतामा सम्पन्न बैठकले आगामी एक वर्षका लागि डिष्ट्रिक्टले सञ्चालन गर्ने कार्यक्रम, प्राथमिकता र रणनीतिका विषयमा विस्तृत छलफल गर्दै डिक्लेरेशन (घोषणापत्र) समेत तयार गरेको छ।

बैठकमा डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म भएका गतिविधिको समीक्षा प्रस्तुत गर्दै बाँकी अवधिमा सदस्यता विस्तार, सेवा परियोजना, नेतृत्व विकास, क्लब सुदृढीकरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिष्ट्रिक्टलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी गराएका थिए। उनले सबै लायन्स क्लबहरूलाई सेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरे।

त्यसैगरी पूर्व डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल काउन्सिल कोअर्डिनेटर सुचित्रा थापा, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुँयाल र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर हसन कुमार गोपालीले आगामी एक वर्षमा सञ्चालन गरिने विभिन्न कार्यक्रम, नेतृत्व विकास, सदस्यता अभिवृद्धि, युवा सहभागिता, सामाजिक सेवा तथा डिष्ट्रिक्टको समग्र कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए।
कार्यक्रमका संयोजक तथा डिष्ट्रिक्ट चिफ एड्भाइजर मिनराज काफ्लेले बैठकको उद्देश्य, कार्यसूची र अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै एड्भाइजरी काउन्सिलले डिष्ट्रिक्टको नीति निर्माण र मार्गनिर्देशनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
बैठकमा डिष्ट्रिक्टका क्याबिनेट पदाधिकारी, पूर्व गभर्नर तथा लायन्स नेतृत्वसहित ८५ जना लायन लिडरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठले गरेका थिए भने समापनका अवसरमा संयोजक काफ्लेले सहभागी सबैप्रति आभार व्यक्त गर्दै बैठकबाट पारित घोषणापत्रले आगामी कार्यकाललाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया