श्रावण १८, २०८३ सोमबार August 3, 2026

नारायणगढ–मुग्लिन सडक सञ्चालन

जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ ।

आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताक, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो ।

ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १०ः०० बजेपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

तुइन खोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयंले पहिरो पन्छाइरहेको छ । अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ ।

सो सडक खण्डमा भने सिमसिम पानी परिरहेको घिमिरेले जानकारी दिए । त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई आग्रह गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया