श्रावण १८, २०८३ सोमबार August 3, 2026

गाजा योजनाप्रति इजरायल असन्तुष्ट

हमासको निःशस्त्रीकरण स्वतन्त्र रूपमा पुष्टि नभएसम्म इजरायलले गाजा पट्टीबाट आफ्ना सेना फिर्ता नबोलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम, १८ साउन (रासस/एएफपी): हमासले निःशस्त्रीकरणको अर्को चरणमा सहमति जनाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेको गाजा शान्ति योजनाप्रति इजरायलले असन्तुष्टि जनाएको छ । इजरायलले प्रस्तावित योजनाले आफ्नो आधिकारिक अडान प्रतिबिम्बित नगरेको भन्दै यसबारे आफ्ना चिन्ता अमेरिकी पक्षसमक्ष औपचारिक रूपमा राखेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक भएको योजनाको संस्करण इजरायलको दृष्टिकोणअनुसार नभएको स्पष्ट पार्दै प्रस्तावित ढाँचाबारे आफ्ना टिप्पणी र चिन्ता अमेरिकी समकक्षीहरूलाई जानकारी गराइएको बताउनुभयो ।

उहाँका अनुसार इजरायली गुप्तचर निकायले गत अक्टोबरमा युद्धविराम लागू भएयता हमासले पुनः हतियार सङ्कलन र लडाकू भर्ती गरिरहेको निष्कर्ष निकालेको छ । त्यसैले हमासको घोषणालाई मात्र आधार बनाएर सुरक्षा जोखिम बेवास्ता गर्न नसकिने इजरायलको धारणा रहेको उहाँले उल्लेख गर्नुभयो ।

हमासले शुक्रबार सम्झौताको अर्को चरणअन्तर्गत आफ्ना हतियार प्यालेस्टिनी प्रशासनिक समितिलाई हस्तान्तरण गर्न सहमत भएको घोषणा गरेको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले यसलाई अक्टोबर ७, २०२३ मा सुरु भएको युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि भन्दै स्वागत गर्नुभएको थियो । उहाँले इजरायल पनि यस घटनाक्रमप्रति सन्तुष्ट रहेको बताउनुभएको थियो ।

तर इजरायलले हमासका पछिल्ला गतिविधिले भविष्यमा पुनः ठूलो आक्रमण गर्ने तयारी भइरहेको सङ्केत गरेको दाबी गरेको छ । प्रवक्ता स्पिलम्यानले गाजालाई छिमेकी मुलुकका लागि कुनै सुरक्षा खतरा नहुने ‘आतङ्कमुक्त क्षेत्र’ बनाउने लक्ष्य प्राप्त गर्न हमासको पूर्ण, प्रमाणित र अपरिवर्तनीय निःशस्त्रीकरण अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले पूर्ण निःशस्त्रीकरणभन्दा कम कुनै पनि व्यवस्थाले हमासलाई पुनः इजरायलमाथि खतरा उत्पन्न गर्ने क्षमता कायम राख्ने दाबी गर्नुभयो ।

नाम नखुलाउने सर्तमा एक इजरायली अधिकारीले पनि हमासको निःशस्त्रीकरण स्वतन्त्र रूपमा पुष्टि नभएसम्म इजरायलले गाजा पट्टीबाट आफ्ना सेना फिर्ता नबोलाउने बताउनुभयो । हाल गाजाको अधिकांश भूभाग इजरायली सेनाको नियन्त्रणमा छ ।

यता, हमासले सम्झौताप्रति सहमति जनाएको घोषणा गरेपछि पनि इजरायलले गाजामा सैन्य कारबाही जारी राखेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार आइतबार भएका इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया