तेहरान, १९ साउन (रासस\एएनआई): इरानका सर्वोच्च नेता मोजताबा खमेनीले राष्ट्रपति मसुद पेजेस्कियानलाई ‘अन्तिम अल्टिमेटम’ दिएको र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) का कमान्डर अहमद वहिदीको अडानलाई प्रमुख निर्णयमा समर्थन गरेपछि इरानभित्र राजनीतिक शक्ति सन्तुलनमा नयाँ तनाव देखिएको दाबी गरिएको छ । यो घटनाक्रम अमेरिका–इरानबीचको तनाव र क्षेत्रीय अस्थिरताका बीच सार्वजनिक भएको हो ।
इजरायली प्रसारक च्यानल–१४ ले तेहरानका घटनाक्रमबारे जानकार स्रोतलाई उद्धृत गर्दै खमेनीले राष्ट्रपति पेजेस्कियानलाई पुनः राजीनामाको विकल्प प्रयोग नगर्न स्पष्ट सन्देश दिएको जनाएको छ । प्रतिवेदनअनुसार यसले पेजेस्कियानको प्रमुख राजनीतिक दबाबको माध्यमलाई निष्क्रिय बनाएको छ ।
उक्त प्रतिवेदनमा पेजेस्कियानले इरानको नेतृत्वसँग नीति सम्बन्धी मतभेदका कारण पटक–पटक राजीनामाको चेतावनी दिएको र गत मे महिनामा राष्ट्रिय सुरक्षा तथा विदेश नीतिसम्बन्धी निर्णय प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग पारिएको भन्दै औपचारिक रूपमा राजीनामा दिन खोजेको दाबी गरिएको छ ।
च्यानल–१४ का अनुसार खमेनीको पछिल्लो निर्णयले सैन्य नेतृत्वसँग पूर्ण सहकार्यको सङ्केत गरेको छ । प्रतिवेदनमा आइआरजीसी कमान्डर अहमद वहिदीको दृष्टिकोण अहिले इरानको आधिकारिक नीतिका रूपमा स्थापित भएको र संयुक्त राज्य अमेरिकासँग सम्बन्धित प्रमुख निर्णयमा उहाँलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको दाबी गरिएको छ ।
प्रतिवेदनले इरानको राजनीतिक नेतृत्व र आइआरजीसीबीचको मतभेद पनि उल्लेखनीय रूपमा घटेको दाबी गरेको छ । साथै तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरअघि कुनै ठूलो नीतिगत परिवर्तन नगर्ने निष्कर्ष निकाल्दै आफ्नो रणनीतिक तथा आर्थिक लाभ सुरक्षित गर्न अधिकतम दबाबको नीति कायम राख्न खोजेको पनि उल्लेख गरिएको छ ।
त्यही स्रोतलाई उद्धृत गर्दै च्यानल–१४ ले तेहरान र वासिङ्टनबीचको सम्पर्क इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी विशेष दूत स्टिभ विटकोफ तथा जारेड कुशनरबीच हुने अप्रत्यक्ष संवादमा सीमित रहेको जनाएको छ । कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेले पनि हाल कुनै औपचारिक वार्ता नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो प्रतिवेदन अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौताका लागि ‘अन्तिम मौका’ दिइएको चेतावनी दिएको केही समयपछि सार्वजनिक भएको हो । ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारको आग्रहपछि इरानविरुद्धको नियोजित सैन्य कारबाही स्थगित गरी कूटनीतिक प्रयासलाई निरन्तरता दिएको बताउनुभएको छ ।
ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका ठूलो सैन्य कारबाहीको तयारीमा पुगे पनि कूटनीतिक पहललाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले इरानसँग वार्ता जारी रहेको र त्यो इरानकै आग्रहमा साउदी अरेबिया, युएई, कतार तथा अन्य मुलुकको सहयोगमा भइरहेको दाबी गर्नुभयो ।
ट्रम्पले इरानले सार्वजनिक रूपमा वार्ता अस्वीकार गरे पनि दुवै पक्षबीच पटक–पटक लामो छलफल भएको दाबी गर्दै संवाद अझै जारी रहेको उल्लेख गर्नुभयो । साथै कूटनीतिक हस्तक्षेप नभएको भए अमेरिका इरानविरुद्ध व्यापक सैन्य आक्रमण गर्न तयार रहेको दाबी पनि उहाँले गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया