काठमाडौँ । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ । युनेस्को र पुरातत्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने नेपालका सम्भावित सम्पदाहरु सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवद्र्धन सम्बन्धमा छलफल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया