श्रावण २०, २०८३ बुधबार August 5, 2026

लेबनान–इजरायलबीच रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण सुरु

सीमासम्बन्धी बाँकी विवादको समाधान तथा दीर्घकालीन शान्ति र सुरक्षा सम्झौताका विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रोम, २० साउन (रासस/एएफपी): लेबनान र इजरायलबीच संयुक्त राज्य अमेरिकाको पहलमा मङ्गलबार इटालीको राजधानी रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण सुरु भएको छ । वार्तामा लेबनानले आफ्नो दक्षिणी भू–भागबाट इजरायली सेनाको चरणबद्ध फिर्ताको माग गरेको छ ।

दुवै देशका प्रतिनिधिमण्डल बोकेका सवारीसाधन मङ्गलबार बिहान रोमस्थित अमेरिकी दूतावास पुगेका थिए । वार्ता बिहीबारसम्म चल्ने कार्यक्रम छ ।

जुनमा वासिङ्टनमा सम्पन्न वार्तामा दुवै पक्ष हिजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा त्यस क्षेत्रमा लेबनानी सेनाको तैनाथीसहितको ढाँचा सम्झौतामा सहमत भएका थिए । उक्त प्रक्रिया ‘पाइलट जोन’बाट सुरु गर्ने सहमति भएको थियो ।

इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि सुरु भएको क्षेत्रीय द्वन्द्वपछि अमेरिकाको मध्यस्थतामा भइरहेको यो सातौँ चरणको वार्ता हो ।

लेबनानका अनुसार त्यसयता इजरायली हवाई तथा स्थलगत आक्रमणमा चार हजार ३०० भन्दाबढी मानिसको मृत्यु भइसकेको छ ।

हिजबुल्लाहका नेता नइम कासिमले भने प्रत्यक्ष वार्ताको आलोचना गर्दै यसले लेबनानका लागि “अपमान, लज्जा र थप सम्झौताबाहेक केही नल्याउने” दाबी गर्नुभयो ।

टेलिभिजन सम्बोधनका क्रममा उहाँले राष्ट्रपति जोसेफ आउनको पनि आलोचना गर्दै उनी मध्यस्थकर्ता वा राष्ट्रिय एकताको प्रतीक बन्न नसकेको आरोप लगाउनुभयो ।

यसअघि सोमबार इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले दुवै पक्षलाई रचनात्मक ढङ्गले वार्ता अघि बढाएर ढाँचा सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका थिए ।

गत महिनाको वार्तापछि इजरायली सेना दक्षिणी लेबनानको जावतार अल–घर्बिया गाउँको बाहिरी क्षेत्रबाट पछि हटेको थियो । त्यसपछि लेबनानी सेना उक्त क्षेत्रमा तैनाथ भएको छ भने स्थानीय बासिन्दालाई घर तथा व्यवसायमा फर्केर निरीक्षण गर्न अनुमति दिइएको छ ।

पाइलट क्षेत्रको कार्यान्वयनमा जोड

लेबनानका प्रधानमन्त्री नवाफ सलामले सोमबार मन्त्रिपरिषद् बैठकमा आफ्नो सरकारले लेबनानी भू–भागबाट इजरायली सेनाको चरणबद्ध र अन्ततः पूर्णरूपमा फिर्ताका लागि प्रयास गरिरहेको बताउनुभएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार यसपटकको वार्तामा पाइलट क्षेत्रको विस्तार, सीमासम्बन्धी बाँकी विवादको समाधान तथा दीर्घकालीन शान्ति र सुरक्षा सम्झौताका विषयमा छलफल हुनेछ ।

लेबनानका लागि अमेरिकी राजदूत मिशेल इस्साले प्रक्रिया हतारमा अघि बढाउँदा सर्वसाधारणको सुरक्षा जोखिममा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

“पहिलो चरण सही रूपमा कार्यान्वयन गर्न आवश्यक समय दिनु उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो, “अगाडि बढ्नुअघि दुवै पक्ष स्पष्ट र कार्यान्वयनयोग्य प्रक्रियामा सहमत हुनुपर्छ ।”

विश्लेषकहरूले लेबनानी सेनाको तैनाथी र हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने सरकारी क्षमतालाई सम्झौताको प्रमुख परीक्षणका रूपमा हेरेका छन् । त्यसैगरी, इजरायलले आफ्नो प्रतिबद्धता कत्तिको पालना गर्छ भन्ने पनि पाइलट क्षेत्रको कार्यान्वयनसँगै परीक्षण हुने उनीहरूको भनाइ छ ।

जुनमा लेबनान–इजरायल सम्झौता तथा अमेरिका–इरानबीच प्रारम्भिक समझदारी भएपछि लेबनानमा हिंसा केही घटेको भए पनि दक्षिणी क्षेत्रमा इजरायली आक्रमण, गोलाबारी तथा विस्फोटका घटना भने जारी रहेको लेबनानले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार