श्रावण २१, २०८३ बिहिबार August 6, 2026

२३० जनाले चलाउँछन् प्रधानमन्त्री कार्यालय

२७ जना प्रधानमन्त्री बालेनको निजी सचिवालयमा छन् भने बाँकी कर्मचारीले स्थायी र करार दरबन्दीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : मुलुकको कार्यकारी शक्तिको केन्द्र हो– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । जहाँबाट सरकारले गर्ने प्रत्येक निर्णयको तयारी, कानुनी परीक्षण, मन्त्रालयहरूसँगको समन्वय, कार्यान्वयनको अनुगमन भइराखेको हुन्छ । अनि प्रधानमन्त्रीको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि यसैले गर्छ । यसआधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कस्ता व्यक्ति छन्, कतिजना छन्, जिम्मेवारी कसरी बाँडफाँड गरिएको छ भन्ने विषयमा सबैको चासो रहन्छ ।

नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले यो विषयमा संसद्मा प्रश्न नै दर्ता गराएकी थिइन् । जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निजी सचिवालयमा २७ जना रहेको विवरण उपलब्ध गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले पनि चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्री कार्यालयमा समग्रमा २३० जनाको जनशक्ति छ । तीमध्ये २७ जना प्रधानमन्त्री बालेनको निजी सचिवालयमा छन् भने बाँकी कर्मचारीले स्थायी र करार दरबन्दीमा रहेर सरकारको केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन् ।

जसमा स्थायी दरबन्दी १७२ रहेको छ भने करार दरबन्दी ३१ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वर्तमान सांगठनिक संरचनाअनुसार हाल नौवटा महाशाखा र २३ वटा शाखा छन् । प्रमुख पदाधिकारीका रूपमा नेपाल सरकारका मुख्यसचिव रहन्छन् । मुख्यसचिवमातहत विभिन्न क्षेत्र हेर्ने तीनजना सचिव छन् । विभिन्न महाशाखा हेर्ने गरी सहसचिवहरूको दरबन्दी छ ।

प्रत्येक शाखाको कार्य सम्पादनका लागि उपसचिवको मातहतमा शाखाको कार्यबोझअनुसार शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी हुन्छन् । जसले प्रशासन, कानुन, राष्ट्रिय सुरक्षा, पूर्वाधार, आर्थिक योजना, तथ्यांक, मन्त्रिपरिषद् व्यवस्थापन तथा अन्तरमन्त्रालय समन्वयजस्ता जिम्मेवारी सम्हाल्छन् । राजपत्रांकित उच्च तहका कर्मचारी मात्रै ४३ जना छन् । जसले आ–आफ्नो विषयगत क्षेत्रको नेतृत्व गर्छन् ।

अधिकांश कर्मचारी नीति, प्रशासन, कानुन, राष्ट्रिय सुरक्षा, इन्जिनियरिङ, आर्थिक योजना, अनुगमन, समन्वय र प्रशासनिक व्यवस्थापनजस्ता विशिष्ट जिम्मेवारीमा छन् ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ४८ वटा कार्यभार छन् । पहिलो नम्बरमै मन्त्रिपरिषद्सम्बन्धी कार्यभार छ । जसमा मन्त्रिपरिषद्को निर्णयदेखि त्यसको कार्यान्वयनको अनुगमनसम्म पर्छ । मन्त्रालयहरूबीचको समन्वय, राष्ट्रिय सुरक्षा, सुशासन र प्रशासन सुधार, प्रधानमन्त्रीको दैनिक कार्यतालिकादेखि सरकारका दीर्घकालीन नीतिको तयारीसम्मका काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै हुन्छ ।

देश चलाउने नीति संसद्ले बनाउँछ । तर, संसद्मा विधेयक लैजाने काम सरकारले गर्छ र नेतृत्व प्रधानमन्त्रीले लिन्छन् । तर, ती निर्णयलाई आकार दिने, कानुनी रूप दिने, मन्त्रालयहरूसँग जोड्ने र कार्यान्वयनको नाडी छाम्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरूले नै गर्छन् ।

कार्यविभाजन नियमावलीअनुसार मन्त्रिपरिषद्को सचिवालयले सुशासन तथा प्रशासन सुधारका नीति बनाउने, भ्रष्टाचार नियन्त्रणसम्बन्धी नीतिको समन्वय गर्ने, राष्ट्रिय सुरक्षा तथा संवेदनशील विषयमा प्रधानमन्त्रीलाई सहयोग गर्ने, प्रधानमन्त्रीको सम्पर्क तथा सचिवालय सञ्चालन गर्नेलगायत जिम्मेवारी निर्वाह गर्छ । त्यसैले प्रधानमन्त्री कार्यालयका जनशक्तिलाई केवल निजी सचिवालयका कर्मचारीको रूपमा हेर्नु यथार्थसँग मेल खाँदैन ।

यति फराकिलो कार्यक्षेत्र सम्हाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ९ महाशाखा र २३ शाखा रहेका हुन् । जसमा कार्यरत २३० जना कर्मचारीको स्पष्ट कार्यविभाजन छ । जुन जनशक्तिले सरकारको संस्थागत संयन्त्र सञ्चालन गर्छन् ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया