ढाका, साउन २५ गते । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई आग्रह गरेको छ ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पण तथा दुई देशबीचका अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको हो ।
बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले उच्चायुक्त त्रिवेदीसँगको भेटमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढाउने अपेक्षा व्यक्त गर्नुभएको छ । सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदबाट हट्नुभएकी हसिना त्यसयता भारतमा रहँदै आउनुभएको छ ।
बङ्गलादेश सचिवालयस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री रहमानले भारतका उच्चायुक्तलाई स्वागत गर्नुभएको थियो । त्रिवेदीले पनि बङ्गलादेशमा आफ्नो पछिल्लो दुई महिनाको कार्यानुभवबारे जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बङ्गलादेशले भारतबाट शेख हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढ्ने अपेक्षा गरेको छ ।
ढाकाले सन् २०२५ डिसेम्बर १२ मा गोली हानी हत्या गरिएका जुलाई आन्दोलनका प्रमुख व्यक्तिमध्ये एक शाहिद उस्मान हादीको हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई पनि भारतबाट फिर्ता गर्न आग्रह दोहोर्याएको छ । बङ्गलादेश सरकारले हादी हत्याका आरोपीलाई फिर्ता गर्न नयाँदिल्लीसँग पुन: अनुरोध गरिएको जनाएको छ ।
भेटका क्रममा दुई देशबीचका प्रमुख द्विपक्षीय विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री रहमानले बङ्गलादेश र भारतबीचको सम्बन्धलाई थप अघि बढाउन अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा बङ्गलादेशका विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत सम्बन्धित अधिकारी सहभागी हुनुहुन्थ्यो ।
उच्चायुक्त त्रिवेदी र प्रधानमन्त्री रहमानबीचको भेट उहाँले बङ्गलादेशका विदेशमन्त्री रहमानसँग छुट्टै भेट गरेको एक दिनपछि भएको हो । पछिल्लो समय हसिनाको भारतबाट सार्वजनिक अभिव्यक्तिलाई लिएर ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव देखिएका बेला बङ्गलादेशको शीर्ष नेतृत्वसँग भारतीय उच्चायुक्तको भेटलाई महत्त्वका साथ हेरिएको छ ।
दुई देशबीचको पछिल्लो कूटनीतिक संवाद हसिनाले गत अगस्ट ५ मा नयाँदिल्लीबाट गरेको भर्चुअल सम्बोधनपछि भएको हो । दक्षिण एसियाली विदेशी सञ्चारकर्मीहरूको क्लबले आयोजना गरेको कार्यक्रममा हसिनाले सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनपछि आफू देशबाट बाहिरिनुपरेको घटनाको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्नुभएको थियो ।
उहाँले आफू स्वदेश फर्किए जेल वा मृत्युदण्डको जोखिम भए पनि लोकतन्त्र पुनःस्थापना गर्दै बङ्गलादेशलाई ‘सही मार्ग’ मा फर्काउन आगामी डिसेम्बरमा स्वदेश फर्किने दृढता व्यक्त गर्नुभएको थियो ।
हसिनाको उक्त अभिव्यक्तिप्रति बङ्गलादेशको विदेश मन्त्रालयले तत्काल कडा आपत्ति जनाएको थियो । ढाकाले उहाँको सार्वजनिक अभिव्यक्तिले जनभावनामा असर पारेको तथा दुई देशबीचको सहयोग र सम्बन्ध सुधारका प्रयासलाई थप जटिल बनाएको भन्दै विरोध जनाएको थियो ।
भारतले भने हसिनासम्बन्धी उक्त कार्यक्रममा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँदिल्लीमा आयोजित कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा व्यक्त भएका विचारसँग भारत सरकारको कुनै सम्बन्ध नरहेको बताउनुभएको थियो ।
“तपाईंले उल्लेख गर्नुभएको अन्तरक्रिया निजी सञ्चार संस्थाले आयोजना गरेको हो । यसमा सरकारको कुनै संलग्नता छैन । न त उक्त मञ्चमा व्यक्त गरिएका कुनै पनि विचारलाई सरकारले समर्थन गर्छ”, जयसवालले पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।
हसिनाको प्रत्यर्पण, हत्या आरोपमा रहेका व्यक्तिको फिर्ती तथा द्विपक्षीय सम्बन्ध सुधारका विषय पछिल्लो समय बङ्गलादेश–भारत सम्बन्धका प्रमुख मुद्दा बनेका छन् । सोमबारको उच्चस्तरीय भेटले यी विषयमा दुई देशबीच संवादलाई निरन्तरता दिने प्रयास भइरहेको सङ्केत गरेको छ । रासस/एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया