एजेन्सी । अफगानिस्तानमा सत्ता सम्हालेको पाँचौँ वार्षिकोत्सवको अवसरमा तालिबान सरकारले शनिवार देशभर ‘विजय दिवस’ मनाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई पराजित गरी सत्तामा फर्किएको दिनको स्मरणमा कडा सुरक्षा व्यवस्थाका बीच विभिन्न उत्सवहरू आयोजना गरिएका छन् ।
विजय दिवसको अवसरमा काबुलका सडकहरूमा सेता झण्डा बोकेका सुरक्षाकर्मीहरूले सवारी साधनसहित र्याली निकाल्दै नाराबाजी गरेका थिए । यस ऐतिहासिक दिनको महत्त्व झल्काउन सरकारले एक विशेष समारोहको आयोजना गरेको थियो । जसमा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा काबुलका विभिन्न स्थानमा सरकारी हेलिकप्टरमार्फत नागरिकहरूमाथि पुष्पवृष्टि समेत गरिएको थियो ।
सन् २०२१ अगस्ट १५ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको लामो युद्धपछि तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसको केही समयपछि, सन् २०२१ अगस्टको अन्त्यमा अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छोडेका थिए ।
सरकारले यस दिनको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। वार्षिकोत्सवको अवसरमा काबुललगायत अन्य प्रमुख सहरहरूमा खेलकुद प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना भइरहेका छन् । हालसम्म कुनै पनि सुरक्षा चुनौती वा अप्रिय घटनाको प्रतिवेदन प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया