भाद्र १, २०८३ सोमबार August 17, 2026

किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रहरीले थप अनुसन्धान आवश्यक रहेको भन्दै समय माग गरेपछि अदालतले फेरि दियो चार दिन अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथिको प्रहरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप चार दिनको म्याद दिएको छ।

प्रहरीले अनुसन्धान पूरा नभएको जनाउँदै श्रेष्ठलाई पुनः अदालतमा उपस्थित गराएर हिरासतको म्याद थप गर्न माग गरेको थियो। यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धान आवश्यक रहेको भन्दै समय माग गरेपछि अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

यसैबीच, श्रेष्ठको पक्राउलाई गैरकानुनी दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट मा सोमबार सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।

श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गत बुधबार पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।

श्रेष्ठको पक्राउपछि उनको कानुनी अवस्थाका साथै पत्रकार तथा सञ्चारकर्मीमाथि अनुसन्धानका क्रममा अपनाइएको प्रक्रियाबारे पनि चासो बढेको छ। अदालतले थप चार दिनको म्याद दिएसँगै श्रेष्ठमाथिको प्रहरी अनुसन्धान जारी रहने भएको छ। यता सर्वोच्च अदालतको सुनुवाइले उनको गिरफ्तारी कानुनी प्रक्रियाअनुरूप भए-नभएको विषयमा महत्वपूर्ण निर्णय दिन सक्ने देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया