किएभ, ७ भदौ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनुभएको छ । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।“यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भन्नुभयो ।
रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ । जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ ।
“यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ”, ४८ वर्षीय जेलेन्स्कीले भन्नुभयो ।उहाँले शनिबार एएफपीलगायत सञ्चारमाध्यमका पत्रकारसँग ब्रिफिङ गर्नुभएको थियो । विभिन्न राजनीतिक विवादबीच महिनौँपछि भएको यो पहिलो पत्रकार भेटघाट हो ।
जेलेन्स्कीले पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि युक्रेनमा राजनीतिक विवाद चर्किएको थियो । फेडोरोभले यसै साता चुनाव गराउने उपाय खोज्नुपर्ने माग गर्नुभएको थियो । यद्यपि, उहाँले त्यसका लागि कुनै ठोस कार्ययोजना प्रस्तुत गर्नुभएको थिएन ।
विशेषज्ञहरूले युद्धका बेला चुनाव गराउँदा सैनिक, विदेशमा रहेका लाखौँ युक्रेनी नागरिक तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाले कसरी मतदान गर्ने भन्ने प्रश्न उठाएका छन् । साथै, रुसबाट हुन सक्ने गलत सूचना प्रवाहको जोखिम पनि रहेको उनीहरूको भनाइ छ ।
‘किभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजी’को सर्वेक्षणअनुसार केबल १५ प्रतिशत युक्रेनी नागरिक युद्ध समाप्त हुनुअघि चुनाव गराउने पक्षमा छन् ।
ब्रिफिङका क्रममा जेलेन्स्कीले फेडोरोभको आलोचना गर्दै उहाँ “गलत दिशातर्फ अघि बढिरहेको वा कसैले त्यसतर्फ धकेलिरहेको”, टिप्पणी गर्नुभयो ।
जेलेन्स्कीले विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि सैनिकप्रति अनादरपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभयो । उहाँले समाज र सेनाबीच विभाजन हुन नहुने बताउँदै यस्तो विभाजनले देशलाई थप जोखिममा पार्न सक्ने चेतावनी दिनुभयो । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया