मंग्सिर २, २०८३ बुधबार November 18, 2026

इरान वार्तामा हतार छैन : ट्रम्प

इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ११ भदौ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताउनुभएको छ । उहाँले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।

अल जजिरासँग बुधबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताउनुभयो । उहाँले अमेरिकाले ‘धेरै ठूलो जित’ हासिल गरिरहेको दाबी गर्दै इरानको उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ सङ्केत गर्नुभयो । सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी छ भन्ने प्रश्नमा उहाँले दुवै प्रभावकारी रहेको बताउनुभयो ।

यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी बिहीबार तेहरान पुगेर इरानी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार उहाँले तनाव घटाउने र वार्ताका लागि अनुकूल वातावरण बनाउने उपायबारे छलफल गर्नुहुनेछ । वार्तामा हर्मुज जलघाँटीमा जहाज आवागमनको स्वतन्त्रता तथा फेब्रुअरी २८ अघिको अवस्थातर्फ फर्किनुपर्ने विषय पनि उठाइनेछ ।

अमेरिकाले तेहरानविरुद्ध सैन्य अभियान सुरु गरेको करिब छ महिनापछि कतार र पाकिस्तानको सक्रियतामा तनाव कम गर्ने कूटनीतिक प्रयास अघि बढेको हो । यस क्रममा राष्ट्रपति ट्रम्पले जारी सैन्य कारबाहीमा गम्भीर घाइते भएको भनिएका इरानी सर्वोच्च नेता मोजतबा खामेनी अझै जीवित रहेको आफूलाई विश्वास रहेको बताउनुभएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टन तत्काल इरानविरुद्ध नयाँ सैन्य आक्रमण गर्ने पक्षमा नरहेको जानकारी दिनुभएको छ । अमेरिकी प्रशासनले अहिले नौसैनिक अवरोध र आर्थिक उपायमार्फत दबाब बढाउने रणनीति लिएको बताइएको छ । यद्यपि तेहरानबाट पहिले आक्रमण भएमा सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अगस्ट २४ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरु गर्ने घोषणा गर्नुभएको थियो । अभियानमार्फत इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनलाई सहयोग पुग्ने राजस्व स्रोत रोक्ने उद्देश्य राखिएको बताइएको छ ।

कतारको पहल पाकिस्तानी सेना प्रमुख असीम मुनीरको हालैको तेहरान भ्रमणपछि अघि बढेको हो । उहाँले हर्मुजको जलघाँटी पुनः खोल्ने तथा क्षेत्रीय प्रोक्सीमार्फत हुने आक्रमण रोक्ने प्रतिबद्धताको बदलामा नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउने अमेरिकी प्रस्ताव इरानसमक्ष राख्नुभएको बताइएको छ ।

कतार र पाकिस्तान अमेरिका–इरान द्वन्द्व कम गर्ने प्रयासमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय छन् । शुक्रबार अगस्ट २८ मा अमेरिकी सैन्य अभियान सुरु भएको छ महिना पुग्दैछ । यसअघि राष्ट्रपति ट्रम्पले द्वन्द्व चारदेखि छ हप्तामात्र चल्ने बताउनुभएको थियो ।

गत जुनमा अमेरिका र इरानले हर्मुज हुँदै पारवहन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा तेहरानको आणविक कार्यक्रमबारे वार्तासहितका विषयमा ६० दिने समझदारी गरेका थिए । उक्त समझदारी यसै महिनाको सुरुमा समाप्त भएको थियो ।रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार