वासिङ्टन, ११ भदौ : अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन र्याटक्लिफले नेटो सदस्य राष्ट्रमाथि आक्रमण नगर्न रुसलाई चेतावनी दिन मस्कोको असामान्य भ्रमण गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले र्याटक्लिफको भ्रमणलाई ‘बेलाबेलामा हुने भ्रमण’ भन्दै यसको मुख्य उद्देश्य युक्रेन युद्ध अन्त्य गर्ने प्रयास रहेको बताउनुभएको छ ।
वाल स्ट्रिट जर्नल र सिबिएस न्युजका अनुसार र्याटक्लिफको भ्रमणको प्रमुख उद्देश्य रुसलाई नेटो सदस्य राष्ट्रमाथि आक्रमणबाट रोक्नु थियो । जर्नलले राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षमा नेटोको सामथ्र्य परीक्षण गर्न ‘सीमित आक्रमण’ गर्न सक्ने आशङ्का पनि उल्लेख गरेको छ । ह्वाइट हाउसले यसबारे एएफपीका प्रश्नको जवाफ दिएको छैन ।
राष्ट्रपति ट्रम्पले अमेरिकी रेडियो प्रस्तोता ग्लेन बेकसँगको अन्तर्वार्तामा र्याटक्लिफ मस्कोमा रहेको पुष्टि गर्दै अमेरिका युक्रेन युद्ध अन्त्य गर्न प्रयासरत रहेको बताउनुभयो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि मस्को भ्रमण गर्ने उच्चपदस्थ अमेरिकी अधिकारीमध्ये र्याटक्लिफ एक हुनुहुन्छ । उहाँको भ्रमण रुसी आक्रमण तीव्र भइरहेका र अमेरिकी मध्यस्थतामा भएका शान्ति वार्ता अवरुद्ध रहेको समयमा भएको हो ।
सीबीएस न्युजका अनुसार र्याटक्लिफले भ्रमणका क्रममा इरानसँगको युद्धबारे पनि छलफल गर्नुभएको थियो । हर्मुज जलघाँटी पुनः जलयातायातका लागि नखोलिए थप प्रतिबन्ध लगाउने चेतावनी दिइएको बताइएको छ ।
यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले र्याटक्लिफले रुसी विशेष सेवासँग ‘सम्पर्क’ गर्नुभएको तर राष्ट्रपति पुटिनसँग भेट नगरेको बताउनुभयो । राष्ट्रपति पुटिनलाई उक्त वार्ताबारे जानकारी गराइएको भए पनि युक्रेन युद्धबारे छलफल भए–नभएकोबारे उहाँले स्पष्ट पार्नुभएन । गुप्तचर सेवामार्फत हुने सम्पर्कलाई सकारात्मक विकासका रूपमा व्याख्या गर्दै पेस्कोभले यसले दुई देशबीचको सम्बन्ध सुधारमा कस्तो प्रभाव पार्छ भन्न कठिन रहेको बताउनुभयो ।
यसअघि सीआईएका तत्कालीन निर्देशक विलियम बर्न्सले सन् २०२१ नोभेम्बरमा मस्को भ्रमण गरी रुसलाई युक्रेनमा सेना नपठाउन चेतावनी दिनुभएको थियो । त्यसको केही सातापछि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । सीआईए रुससँगको कैदी आदानप्रदानमा समेत संलग्न रहँदै आएको छ ।
युक्रेन युद्धमा ठूलो मानवीय क्षति भए पनि क्रेमलिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने र क्रिमियामाथिको नियन्त्रण कायम राख्ने मागमा लचकता नदेखाएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले र्याटक्लिफको भ्रमण नेटोको सामथ्र्य परीक्षण वा इरानमाथि आर्थिक दबाब बढाउने अभियानसँग सम्बन्धित रहेको अड्कल अस्वीकार गर्नुभएको छ । उहाँले रुस र युक्रेन दुवै युद्ध अन्त्य गर्न चाहेको दाबी गर्दै अमेरिका त्यसका लागि निरन्तर प्रयासरत रहेको बताउनुभयो । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया