नयाँदिल्ली, भदौ १३ गते । हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका छन् ।
युएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत-नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहावका कारण भएको थियो । घटनामा करिब तीन हजार मानिस बेपत्ता भएका छन् भने ६३३ जनाको मृत्यु पुष्टि भएको छ । हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकले बताएका छन् ।
“नेपालसँग हाम्रो सीमा जोडिएको र भौगोलिक अवस्था पनि समान भएकाले हामीले सम्बन्धित विभागलाई यस क्षेत्रका सबै हिमनदी र ज्ञात हिमनदीजन्य तालको निगरानी गर्न निर्देशन दिएका छौँ”, भारतको हिमाली राज्य उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले भन्नुभयो । “हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौँ”, उहाँले एएफपीलाई बताउनुभयो ।
सरकारी तथ्याङ्कअनुसार उत्तराखण्डमा एक हजार २६६ हिमनदीजन्य ताल छन् । यसका कारण राज्यलाई भारतको संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ । वैज्ञानिकका अनुसार हिमाली हिमनदीले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउँछन्। तर जलवायु परिवर्तनका कारण ती पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेका छन् । यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई अप्रत्याशित तथा विनाशकारी विपत्तिको जोखिम बढाएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया