भाद्र १४, २०८३ आइतबार August 30, 2026

पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित

अभिभावक तथा प्रत्यक्षदर्शीले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसलाई भवनबाट बाहिरिन रोकेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामावाद, भदौ १४ गते । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६:३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो । अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये एक नर्सले एक जनालाई मात्र उद्धार गर्न सकेकी थिइन् । निलम्बित हुनेमा अस्पतालका  कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपतकालीन सेवाका महानिर्देशकसहितका अधिकारी छन् ।

प्रधानमन्त्री सरिफले शनिबार जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने र उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्ध समेत कारबाही अघि बढाउन स्वीकृति दिनुभएको छ । प्रतिवेदनअनुसार आगलागी सुरु भएको करिब छ मिनेटपछि आपतकालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो ।

अभिभावक तथा प्रत्यक्षदर्शीले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसलाई भवनबाट बाहिरिन रोकेको आरोप लगाएका छन् । अस्पतालमा आगलागी तथा अन्य आपतकालीन अवस्थासम्बन्धी पर्याप्त सञ्चालन कार्यविधि र तालिमको व्यवस्था नभएको पनि प्रतिवेदनमा उल्लेख छ । आगलागी हुँदा वार्डमा दुई नर्स, एक महिला सुरक्षाकर्मी र अर्का एक कर्मचारी उपस्थित थिए ।

स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एयर कन्डिसनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताउनुभएको थियो । तर प्रारम्भिक प्रतिवेदनले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ । घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई पदबाट हटाइएको थियो ।

पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना हुने गरेका छन् । गत जनवरीमा कराँचीको एक सपिङ सेन्टरमा भएको आगलागीमा ६५ जनाभन्दा बढीको मृत्यु भएको थियो । सन् २०२३ मा कराँचीकै अर्को सपिङ मलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल
२०८३ भाद्र १४, आइतबार
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
२०८३ भाद्र १४, आइतबार
रास्वपा सभापति रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
२०८३ भाद्र १४, आइतबार
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार