भाद्र १५, २०८३ सोमबार August 31, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा, १५ भदौः देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन् ।

महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख एक सहयोग गर्नुभएको छ । उहाँले व्यक्तिगत खुसीभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै जन्मदिनमा हुने खर्च सहयोग गर्नुभएको हो ।

झाले देश नै विपत्तिमा परेका बेला व्यक्तिगत उत्सवमा मात्र रमाउनु उचित नलागेकाले प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

“देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।

बर्दिबासका सामाजिक अभियन्ता तथा योगगुरु सुमित्रा भट्टराईले रु ५१ हजार सहयोग गर्नुभएको छ । भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित परिवार राहत तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनासहित सहयोग गरिएको भट्टराईले बताउनुभयो ।

उहाँले विपद्का बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

त्यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घको सहकार्यमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्री कृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषणा थापाले रु ५१ हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै मोनास्टिक स्कुल/कलेजले रु पाँच लाख एक हजार सहयोग गर्ने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको विद्यालयले जनाएको छ ।

विद्यालयका निर्देशक डा सोनु साहले विपद्का बेला पीडितपरिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताउनुभयो । सहयोगकर्ताले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाज सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया