काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ। ठुलो ठुलो गोदामहरुमानै गएर अनुगमन गर्न यादवले निर्देशन दिनुभएको छ ।
सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपद्को समयमा बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताउनुभएको छ।
नेपालमा पछिल्लो समय ठूलो बाढीपहिरो तथा प्राकृतिक विपद्को अवस्था रहेकाले यही परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढाउने प्रवृत्ति देखिन सक्ने भन्दै उहाँले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ अघि बढाउन मन्त्रालयले पहिलोपटक १६ वटा अनुगमन टोली गठन गरेको छ। ती टोलीले दैनिक रूपमा बजार अनुगमन गरी त्यसको प्रतिवेदन मन्त्री यादवसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले अनुगमनका क्रममा उपभोक्तामाथि ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन निर्देशन दिनुभएको छ।
कसैलाई ‘मेरो मान्छे हो’ भनेर जोगाउने प्रयास नगरी दोषी देखिए जोसुकैलाई समान रूपमा कानुनी कारबाहीको दायरामा ल्याउन उहाँले निर्देशन दिनुभएको छ।
मन्त्री यादवले विगतका सरकार तथा अनुगमन प्रणालीमा देखिएका कमजोरी दोहोरिन नदिन कर्मचारीहरूलाई दृढताका साथ काम गर्न निर्देशन दिँदै प्रभावकारी अनुगमनका लागि बलियो टोली आवश्यक रहेको बताउनुभएको छ।
उहाँले अहिले गठन गरिएको १६ वटा टोलीले बजारमा देखिएको मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
छलफलमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले अनुगमनका क्रममा कर्मचारी अभाव भए थप जनशक्ति परिचालन गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ। तर अनुगमन केवल औपचारिकतामा सीमित नभई परिणाममुखी हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
विपद्को मौका छोपेर बजार भाउ मनलाग्दी बढाइएको गुनासो बढ्दै गएको भन्दै सचिव दुवाडीले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित तथा निरन्तर बजार अनुगमन आवश्यक रहेको बताउनुभएको छ।
त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतीराम सापकोटाले मन्त्री यादवको निर्देशनअनुसार विपद् तथा चाडपर्वको समयमा अनुचित रूपमा मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कारबाही गर्न विभाग तयार रहेको बताउनुभएको छ।
विभागले गठन गरेका १६ वटा टोलीलाई सक्रिय रूपमा परिचालन गरी बजारको मूल्य, वस्तुको उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थामाथि निगरानी बढाइने जनाइएको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया