भाद्र १६, २०८३ मंगलबार September 1, 2026

पर्सा हुँदै भारतमा गाँजाको ‘ओपन रुट’ : मोटरसाइकलदेखि स्कर्पियोसम्म, ४ नेपाली पक्राउ

उनीहरूसँग अन्य व्यक्ति वा संगठित समूहको सम्बन्ध थियो कि थिएन भन्ने विषय भारतीय अनुसन्धानबाट खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा/रौतहट, १६ भदौ । नेपालबाट भारततर्फ हुने गाँजा तस्करीको ‘रुट’मा पर्सा–रक्सौल खण्ड फेरि चर्चामा आएको छ। पछिल्ला दुई घटनामा भारतीय प्रहरीले मोटरसाइकलको सिटभित्र लुकाइएको गाँजादेखि दुईवटा स्कर्पियोमा राखिएको झण्डै १९१ किलो गाँजा बरामद गरेको छ।

यी दुई छुट्टाछुट्टै घटनामा एक भारतीयसहित चार नेपाली नागरिक पक्राउ परेका छन्। भारतीय सुरक्षाकर्मीले लगातार कारबाही तीव्र बनाएपछि नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्ने समूहहरू निगरानीमा पर्न थालेका हुन्।

मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनपछि रक्सौल आसपासको क्षेत्रमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले सवारीसाधन तथा सीमावर्ती क्षेत्रमा निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिटभित्र गाँजा, मोटरसाइकलसहित दुई पक्राउ

सोमबार रक्सौल हरैया थाना प्रहरीले लक्ष्मीपुर चेकपोस्ट बाइपासस्थित एनएच–२८ बाट मोटरसाइकलको सिटभित्र लुकाएर गाँजा लैजाँदै गरेका दुई जनालाई पक्राउ गरेको छ।

नेपालतर्फको सिरिसवाबाट दुई जना व्यक्ति गाँजा लिएर लक्ष्मीपुर चेकपोस्ट बाइपास हुँदै जाने सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो। बिहान करिब ८ः२० बजे शंकास्पद सुपर स्प्लेन्डर मोटरसाइकल रोकेर जाँच गर्दा सिटभित्र लुकाइएको अवस्थामा करिब ७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पूर्वी चम्पारणको दरपा थाना क्षेत्रका ५५ वर्षीय चन्देश्वर प्रसाद कुशवाहा र नेपालको पर्सा जिल्ला पोखरिया–९, विश्रामपुरका ५८ वर्षीय मदन राउत रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ७ किलो गाँजासहित ७ हजार भारतीय रुपैयाँ, ९ सय नेपाली रुपैयाँ, एउटा सुपर स्प्लेन्डर मोटरसाइकल र दुई थान की–प्याड मोबाइल बरामद गरेको जनाएको छ।

दुई स्कर्पियोबाट झण्डै १९१ किलो गाँजा

मोटरसाइकलबाट गाँजा बरामद भएको घटनाको अनुसन्धान भइरहेकै बेला रक्सौलमै ठूलो परिमाणको गाँजा बरामद भएको अर्को घटना सार्वजनिक भएको छ।

आइतबार भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका दुईवटा स्कर्पियोबाट १९० किलो ६३५ ग्राम गाँजा बरामद गरेको हो।

मैत्री पुलनजिक सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। BR25P6481 र BR05P2628 नम्बरका स्कर्पियोबाट गाँजा बरामद भएको हो।

पहिलो स्कर्पियोबाट ९८ किलो ८४५ ग्राम र दोस्रोबाट ९१ किलो ८०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा तीनजना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साका विष्णुदेव पटेल तथा बाराका रञ्जन पासवान र शिवचन्द्र साह कानू रहेका छन्।

भारतीय प्रहरीले उनीहरूविरुद्ध एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मोटरसाइकलदेखि स्कर्पियोसम्म, एउटै रुटमा फरक शैली

रक्सौलमा छोटो समयको अन्तरालमा भएका यी घटनाले गाँजा तस्करीमा प्रयोग हुने शैली र सवारीसाधन फरक भए पनि सम्भावित मार्ग एउटै दिशातर्फ केन्द्रित रहेको देखाउँछ।

सानो परिमाणको गाँजा मोटरसाइकलको सिटभित्र लुकाएर लैजानेदेखि ठूलो परिमाणमा दुईवटा स्कर्पियो प्रयोग गर्नेसम्मका घटना सार्वजनिक भएका छन्।

विशेषगरी दुईवटा स्कर्पियोबाट एकैपटक झण्डै १९१ किलो गाँजा बरामद हुनुले यो सामान्य ओसारपसारभन्दा बाहिरको संगठित तस्करीको सम्भावनातर्फ संकेत गरेको छ।

भारतीय भूमिमा समातिएपछि नेपालतर्फ प्रश्न

नेपाल–भारत सीमामा दुवै देशका सुरक्षा निकायले लागूऔषध नियन्त्रणका लागि विभिन्न स्थानमा जाँच गर्दै आएका छन्। तर मकवानपुरबाट बारा र पर्सा हुँदै दुईवटा स्कर्पियो रक्सौलसम्म पुगेर भारतीय सुरक्षाकर्मीको जाँचमा ठूलो परिमाणमा गाँजा बरामद हुनु नेपालतर्फको सुरक्षा जाँचमाथि प्रश्न उठाउने विषय बनेको छ।

गाँजा बोकेका सवारीसाधनले नेपालभित्रका विभिन्न सडकखण्ड र सुरक्षा जाँचस्थल पार गर्दा किन नियन्त्रणमा परेनन्? कहाँ–कहाँ जाँच भयो? जाँचका क्रममा ती सवारीसाधन किन शंकाको घेरामा परेनन्? र झण्डै १९१ किलो गाँजा कसरी सीमासम्म पुग्यो?

यी प्रश्नको जवाफ सम्बन्धित सुरक्षा निकायको अनुसन्धानबाट खोजिनुपर्ने देखिन्छ।

त्यस्तै मोटरसाइकलको सिटभित्र गाँजा लुकाएर लैजाने घटनाले तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ तरिका अपनाइरहेको पनि देखाएको छ।

‘रुट’ र सञ्जालमाथि अनुसन्धान आवश्यक

पछिल्ला घटनाक्रमले नेपालबाट भारततर्फ हुने गाँजा तस्करीको सम्भावित सञ्जालबारे थप अनुसन्धान आवश्यक देखाएको छ।

पक्राउ परेका व्यक्तिहरूले गाँजा कहाँबाट ल्याएका थिए, कसको निर्देशनमा ओसारपसार भइरहेको थियो, भारतमा यसको गन्तव्य कहाँ थियो र उनीहरूसँग अन्य व्यक्ति वा संगठित समूहको सम्बन्ध थियो कि थिएन भन्ने विषय भारतीय अनुसन्धानबाट खुल्नेछ।

तर रक्सौल क्षेत्रमा लगातार गाँजा बरामद हुन थालेपछि नेपालतर्फबाट भारत जाने सम्भावित तस्करी मार्ग, स्रोत क्षेत्र र सीमासम्म पुग्ने सञ्जालमाथि पनि नेपालका सुरक्षा निकायले गम्भीर निगरानी बढाउनुपर्ने देखिन्छ।

भारतीय भूमिमा पुगेपछि मात्रै ठूलो परिमाणमा गाँजा बरामद हुनु दुई देशबीचको सुरक्षा समन्वय र नेपालतर्फको चेकजाँच प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने संकेतसमेत हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
२०८३ भाद्र १६, मंगलबार
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार