भाद्र १७, २०८३ बुधबार September 2, 2026

एमाले अध्यक्ष ओलीद्वारा बाढी प्रभावित धादिङ, गल्छीको अवलोकन

बाढी प्रभावित धादिङ र नुवाकोटमा ओलीको स्थलगत निरीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरोबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। बुधबार धादिङको गल्छी गाउँपालिका पुगेर उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्दै पीडित तथा स्थानीयवासीका समस्या र गुनासा सुनेका हुन्।

निरीक्षणका क्रममा ओलीले बाढीका कारण भएको भौतिक तथा मानवीय क्षतिको अवस्थाबारे जानकारी लिएका थिए। स्थानीयवासीले बाढीपछि आफूहरूले भोग्नुपरेका समस्या, घर तथा पूर्वाधारमा भएको क्षति, राहत तथा पुनःस्थापनाको आवश्यकता लगायतका विषयमा ओलीलाई जानकारी गराएका थिए। उनले विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा उद्धारमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

ओलीले बाढी प्रभावित क्षेत्रमा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघलगायतका संगठनबाट भइरहेको उद्धार तथा राहत गतिविधिको समेत निरीक्षण गरेका थिए। विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन्।

त्यसपछि ओली नुवाकोटको बेलकोटगढी पुगेका थिए। त्यहाँ उनले बाढी तथा पहिरोबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय जनप्रतिनिधि तथा प्रभावित नागरिकसँग छलफल गरेका थिए। उनले बाढीबाट घरबारविहीन तथा समस्यामा परेका परिवारलाई तत्काल आवश्यक राहत सामग्री र अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताउँदै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया