भाद्र १८, २०८३ बिहिबार September 3, 2026

परराष्ट्रमन्त्रीद्वारा कूटनीतिक समुदायलाई भोटेकोशी बाढीको ब्रिफिङ

विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ, भदौ १८ गते ।परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई नेपालमा विपत् निम्त्याएको भोटेकोशी बाढीको घटनाबारे ब्रिफिङ गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित रहनुभएको थियो ।

मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे पनि सो क्रममा अवगत गराउनुभयो । मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। मन्त्री खनालले भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित रसुवागढीमा भोटेकोशी नदीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो विनाशकारी बाढीलाई म ‘हिमालयन सुनामी’ भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,” उहाँका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो ।यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा समुदाय तथा भौतिक पूर्वाधारमा गम्भीर असर परेको उहाँले जानकारी दिनुभयो । सरकारले विपद्को कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री खनालले यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोगसमेत लिइरहेको बताउनुभयो।

विपतको यस कठिन घडीमा नेपालले छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सरकारले उपलब्ध सबै राष्ट्रिय स्रोत परिचालन गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग नजिकबाट सहकार्य जारी राख्ने तथा कूटनीतिक समुदायलाई विपद्को अवस्थाबारे नियमित रूपमा जानकारी गराउँदै जाने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया