भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

बल्ल परामर्शमा प्रधानमन्त्री

बाढीपछिको खोज, उद्धार र पुनस्र्थापनाका विषयमा विज्ञ तथा राजनीतिक नेतासँग थाले छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहीबार नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टाछुट्टै भेट गरे । दुवै भेटमा रसुवामा गत भदौ १० गते गएको विनाशकारी बाढीले निम्त्याएको विपद्बारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

घिसिङ जलविद्युत् क्षेत्रका विज्ञ हुन् । लामो समय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएर काम गरेका घिसिङ अघिल्लो सरकारका ऊर्जामन्त्री थिए ।

नेकपाका नेता पुन पूर्वउर्जामन्त्री र पूर्व अर्थमन्त्री हुन् । दुवैले प्रधानमन्त्री बालेनलाई विपद्पछिको खोज, उद्धार, राहत वितरण र पुनस्र्थापनासम्म सरकारले गर्न सक्ने र गर्नुपर्ने काम र योजनाबारे सुझाव दिएका छन् ।

भदौ १० गते आएको बाढीले रसुवाको भोटेकोशी र त्रिशूली नदी आसपास ठुलो जनधनको क्षति गरेको छ । बाढीमा कति जना बेपत्ता छन् भन्ने यकिन विवरण अझै सार्वजनिक हुन सकेको छैन । भौतिक क्षतिको विवरण पनि प्रारम्भिक अनुमानमै सीमित छ ।

बाढी आएको नौ दिन बितिसक्दा पनि खोज तथा उद्धारको काम पूर्ण रूपमा टुंगिएको छैन । विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार हुन सकेको छैन । यसलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठिरहेको छ ।

बुधबार मात्रै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले सुरुङमा फसेकाहरूको उद्धार गर्ने विज्ञता नेपालसँग मात्रै नभई विश्वका अन्य देशसँग पनि नभएको बताएका थिए ।

उनको उक्त अभिव्यक्तिको संसद्भित्र र बाहिर आलोचना भइरहेको छ । विज्ञहरूले सुरुङ उद्धारका लागि अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्न सकिने सुझाउँदै आएका छन् ।

यस पृष्ठभूमिमा प्रधानमन्त्री बालेन बाढीपछिको खोज, उद्धार र पुनस्र्थापनाका विषयमा विज्ञ तथा राजनीतिक नेतासँग छलफल थालेका हुन् ।

घिसिङका अनुसार भेटमा प्रधानमन्त्री बालेनले सुरुङमार्गमा फसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए । बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।

प्रधानमन्त्रीको सचिवालका अनुसार रणनीतिक रूपमा नै परामर्श सुरु गरिएको हो ।

अर्थात्, विपद्को सामना गर्न एक्लै सकिँदैन भन्ने निचोडमा पुगेपछि सरकारले एकातिर बाह्य सहयोग खुला गर्‍यो । अर्कोतिर प्रधानमन्त्री बालेन विज्ञ र राजनीतिक दलका नेताहरूसँग संवादमा जुटेका हुन् ।

विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका टनेल (सुरुङ)हरूमा फसेका कामदारहरूको उद्धारका लागि सरकारले सुरुमै विदेशी विशेषज्ञ र सहायता लिएन । सरकारले आफैं प्रयास गर्‍यो ।

तर, विपद् आएको पाँच दिनपछि सरकारले विदेशी टनेल उद्धार टोलीहरूलाई अनुमति दिएको थियो । यस पृष्ठभूमिमा उद्धार कार्यमा विदेशी टोली र प्रविधि लिन किन ढिलाइ गरेको भनेर प्रश्न उठेको थियो ।

यति ठुलो विपद् पर्दा अन्तर्राष्ट्रिय सहयोग किन नलिएको भन्ने प्रश्नलाई बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री बालेनले संसद्मा सम्बोधन गरेका थिए । तर, उनले विदेशी सहयोग लिन ढिलाइ गरेको भन्ने टिप्पणी स्वीकार गरेका थिएनन् ।

उनले भनेका थिए, ‘प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहयोग लिन सुरुवातदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं । प्रक्रियासमेत छोटो गराएर अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं ।’

एकातिर विदेशी प्रावधिक सहयोग लिन ढिलाइ गरको र अर्कोतिर सुरुङहरूमा खोज र उद्धारमा ढिलाइ भएपछि सरकारले विभिन्न प्रश्नको सामना गर्नुपर्‍यो ।

प्रधानमन्त्रीका अनुसार विपद्पछि सरकारले सुरुमा आन्तरिक क्षमतामै विश्वास देखाएको थियो । सरकार र सुरक्षा निकायहरूले सुरुमा आफ्नै सुरक्षा फौज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग विपद् व्यवस्थापन र उद्धारको पर्याप्त क्षमता रहेको दाबी गरेको थियो ।

यसअनुसार सरकारले सुरुमा प्रभावित जलविद्युत् आयोजनाहरूमा उद्धारको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाको एकल कमान्डमा सुरु गरेको थियो । प्रभावित क्षेत्रमा सुरुमै निजी प्रवर्धक र अन्तर्राष्ट्रिय प्राविधिकलाई स्वतन्त्र रूपमा उपकरणसहित परिचालन हुन दिइएन ।

परराष्ट्र मन्त्रलय र सरोकारवाला निकायले सुरुमा प्रत्यक्ष विदेशी उद्धार टोली परिचालन गर्नुको सट्टा आर्थिक र राहत सामग्रीको सहयोगलाई प्राथमिकता दिए ।

तर, टनेलभित्र जमेको लेदो, हिलो र कठिन भौगोलिक अवस्थाका कारण नेपाली टोली मात्रै पर्याप्त हुन सकेन । साथै, बाढीमा विभिन्न देशका नागरिकसमेत बेपत्ता भएका थिए । यस अवस्थामा विदेशी दूतावासहरूको कूटनीतिक दबाब पनि बढ्यो । यसपछि सरकार सुरुको नीति बदलेर विदेशी प्राविधिक लिन सहमत भएको हो ।

यसअनुसार हाल प्रभावित विद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ ।

अर्थात्, बाढीपछिको खोज, उद्धार, राहत र पुनस्र्थापनामा सरकारको कार्यशैलीमाथि प्रश्न बढ्दै गएपछि प्रधानमन्त्री शाहले बल्ल विज्ञ तथा अनुभवी राजनीतिक नेतृत्वसँग परामर्श थालेका हुन् ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार