काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा प्रधानमन्त्री शाहले बालबालिकालाई देशको भविष्यको उज्यालो किरणका रूपमा उल्लेख गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकारले सम्भव भएसम्मका सबै प्रयास गरिरहेको बताउनुभएको छ।
उहाँले यसपटकको जन्माष्टमीमा भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिका विगतमा जस्तो खुसी हुन नसकेको उल्लेख गर्नुभएको छ। बाढीका कारण केही बालबालिका गहिरो पीडामा रहेको, केहीले आफ्नो दुःख व्यक्त गरिरहेका र केही अझै घटनाको त्रास तथा सदमाबाट बाहिरिन नसकेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
कतिपय बालबालिकाले आफूहरूमाथि अचानक के भयो भन्ने कुरा बुझ्न वा सम्झनसमेत नसक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले उनीहरूका आँखाले आफ्ना आमाबुबा तथा आफन्त खोजिरहेको हुन सक्ने बताउनुभएको छ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीका कारण देश नै शोकमा रहेको बताउँदै प्रभावित बालबालिकाले आफ्ना साथी गुमाएको, घर तथा बस्तीहरू उजाडिएको र खेल्ने मैदानसमेत बाढी तथा पहिरोले पुरिएको उल्लेख गर्नुभएको छ।
बाढीपछि सरकारले गम्भीर घाइते, गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकसँगै बालबालिकाको उद्धारलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम अझै जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ।
बाढी प्रभावितको अस्थायी बसोबास सहज र आरामदायी नभए पनि सरकारले उनीहरूका लागि सुरक्षित तथा सुविधायुक्त आवासको व्यवस्था गर्न निरन्तर प्रयास गरिरहेको उहाँले बताउनुभएको छ। प्रभावित नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उनीहरूले भविष्यको सपना देख्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा देखिएको यस्तो विनाशका पछाडि जलवायु परिवर्तनको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका असरबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै आएको उहाँले उल्लेख गर्नुभएको छ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाले विपद्को कठिन अवस्था भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्य क्षेत्रका बालबालिकालाई समेत विपद्बारे सचेत रहन, सुरक्षित रहन र आवश्यक जानकारी एक–अर्कासँग साझा गर्न आग्रह गर्नुभएको छ।
उहाँले विद्यालय तहमा जलवायु परिवर्तन र त्यसका प्रभावबारे विशेष शिक्षण तथा सिकाइ आवश्यक रहेको बताउनुभएको छ। बालबालिकालाई आपत्कालीन झोला तयार राख्ने, सानो रकम बचत गर्ने तथा विपद्का विषयमा निरन्तर छलफल र बहस गर्ने जस्ता व्यवहारिक उपाय सिकाउनुपर्ने उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्ले कठिनाइ र पीडा निम्त्याउने भएकाले यस्तो अवस्थामा सबैले एकता, सद्भाव र भ्रातृत्वका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ। संकटको सामना गर्न शान्त र एकताबद्ध रहन भगवान् श्रीकृष्णले समेत प्रेरणा दिएको स्मरण गर्दै उहाँले सबैलाई धैर्य र एकता कायम राख्दै नेपालको उज्ज्वल भविष्य निर्माणमा समर्पित हुन आह्वान गर्नुभएको छ। (रासस)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया