भाद्र २०, २०८३ शनिबार September 5, 2026

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार

सम्पर्कविहीन हुनेहरूमा नुवाकोटबाट करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म एक हजार ३३१ जनाको शव फेला परेको छ भने ५ हजार नागरिक अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तीव्रस्तरमा अघि बढाइएको जनाएको छ।

आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ४ नम्बर अडिट टनेलबाट एक जना चिनियाँ नागरिक तथा नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै सकुशल उद्धार गरिएको छ। प्राधिकरणका अनुसार फेला परेका १ हजार १३१ शवमध्ये हालसम्म १८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ। फेला परेका शवहरूमा विभिन्न स्थानमा भेटिएका मानव अङ्गसमेत समावेश छन्।

बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन्। जसमा नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, चितवनमा १६०, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव रहेका छन्।

सम्पर्कविहीन हुनेहरूमा नुवाकोटबाट करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना, विदेशी नागरिक ५८९ जना तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेका छन्। सम्पर्कविहीनको यो सूचीमा पहिचान नभएका शवहरू तथा उद्धार गरिएका कतिपय व्यक्तिको नामसमेत दोहोरिएको हुन सक्ने भएकाले हाल नामावली रुजु गर्ने कार्य भइरहेको प्राधिकरणले स्पष्ट पारेको छ।

प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा सशस्त्र प्रहरी बलबाट ४ हजार ८७१, नेपाली सेनाबाट ४ हजार १६२ (हवाई उद्धारमार्फत २७५ विदेशी र ३,६८७ नेपाली तथा स्थलगत २००) र नेपाल प्रहरीबाट ४ हजार ६८ जनाको उद्धार भएको छ। उद्धार गरिएकाहरूमा ३०४ जना विदेशी नागरिकसमेत छन्। उद्धारका लागि नेपाली सेनाले हालसम्म १७३ र निजी क्षेत्रका हेलिकप्टरमार्फत १२१ पटक हवाई उडान गरिएको छ।

बाढीमा परी घाइते भएका ५ हजार १२९ जनाको उपचार गरिएको छ, जसमा नेपाली सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट १ हजार ५१६ र विभिन्न अस्पतालहरूमा ३१६ जनाको उपचार भएको छ। रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ४१ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ९८२ जना आश्रित छन्।

फिल्डमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले तत्कालका लागि रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख र अति प्रभावित १५ वटा पालिकासहित कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत निकासा गरेको छ।

काठमाडौंबाट ८३ वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। यस्तै, सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ। प्रभावित क्षेत्रमा हाल ५७ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाइबेरियामा खोप अनुसन्धान चिम्पान्जीको स्वास्थ्य जाँच
२०८३ भाद्र २०, शनिबार
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार