भाद्र २३, २०८३ मंगलबार September 8, 2026

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, भदौ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्ररूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गर्नुभएको छ ।

ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनुभयो । उहाँले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिनुभयो । यसको जवाफमा इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ ।

उहाँले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीसमेत जोखिममा पर्ने बताउनुभयो । यसैबिच, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी दिनुभएको छ । उहाँले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताउनुभयो ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले तीन इरानी कच्चा तेल ट्याङ्कर आइआरजिसी र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’को हिस्सा रहेको दाबी गरेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्कर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताउनुभयो ।

अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया