भाद्र २३, २०८३ मंगलबार September 8, 2026

ग्रिनल्यान्डमा ईयूको उपस्थिति बढाउने घोषणा, लगानी प्याकेज सार्वजनिक

ट्रम्पको धम्कीकाबिच ईयूले ग्रिनल्यान्डलाई दियो २० करोड यूरो सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने धम्की दिइरहेका बेला युरोपेली संघ ईयूले ग्रिनल्यान्डसँगको सम्बन्ध थप बलियो बनाउने घोषणा गरेको छ ।

ईयूले ग्रिनल्यान्डका लागि २० करोड युरो (२३ करोड २० लाख डलर) बराबरको लगानी प्याकेज घोषणा गरेको हो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सोमबार ग्रिनल्यान्डको राजधानी नूकमा आयोजित कार्यक्रममा आगामी दुई वर्षमा स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले यो प्याकेज घोषणा गरेकी हुन् ।

ईयू, ग्रिनल्यान्ड र डेनमार्कबीच संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर भएको छ । घोषणापत्रमा ईयू आयोगकी अध्यक्ष भोन डेर लेयन, ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेन र डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले हस्ताक्षर गरेका छन् । प्रस्तावित लगानी ग्रिनल्यान्ड सरकारको प्रशासनिक क्षमता मजबुत बनाउन तथा दिगो पर्यटन र आवास निर्माणसम्बन्धी कार्यक्रम अघि बढाउन प्रयोग गरिनेछ । ग्रिनल्यान्डको भविष्य त्यहाँका जनता र डेनमार्कले मात्रै निर्धारण गर्ने बताउँदै ईयू यस क्षेत्रमा अझ सक्रिय र उपस्थित हुन चाहेको भोन डेर लेयनले बताइन् ।

ईयूले सन् २०२८ देखि २०३४ सम्मको आफ्नो आगामी बजेट अवधिमा ग्रिनल्यान्डलाई दिने प्रत्यक्ष आर्थिक सहयोग दोब्बर बनाउने प्रस्तावसमेत गरेको छ । त्यसअनुसार प्रत्यक्ष सहयोग ५३ करोड युरो (करिब ६१ करोड ६० लाख डलर) पुर्‍याउने योजना छ । ग्रिनल्यान्ड प्राकृतिक स्रोतले सम्पन्न र रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रमा अवस्थित रहेको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ट्रम्पले यसमाथि अमेरिकी नियन्त्रण बढाउनुपर्ने बताउँदै आएका छन् । उनका यस्ता अभिव्यक्तिले ग्रिनल्यान्ड र डेनमार्कसँगै नाटोका अन्य साझेदार राष्ट्रसँग पनि तनाव बढाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया