भाद्र २३, २०८३ मंगलबार September 8, 2026

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म, वडा अधिवेशन असोज ३ र ४ मा

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अधिवेशन सञ्चालन गर्दा स्थानीय अवस्था र अनुकूलतालाई ध्यानमा राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बाढीपहिरोका कारण उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै पूर्वनिर्धारित केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर अन्य तहका अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको हो।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ २३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ। स्थानीय अनुकूलता हेरी दुई दिनभित्र अधिवेशन सम्पन्न गरिने समितिले जनाएको छ।

वडा अधिवेशनअन्तर्गत देशभरका ६ हजार ७४३ वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

त्यसैगरी गाउँ-नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका तय गरिएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर प्रथम चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको उल्लेख छ।

बाढी प्रभावित तीन जिल्लामा स्थानीय समन्वयमा अधिवेशन

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा त्यसबाट देशका विभिन्न भूभागका नागरिक प्रभावित भएको अवस्थालाई समेत ध्यानमा राखेर अधिवेशन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

विज्ञप्तिअनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा तोकिएका निर्वाचन अधिकृतले पार्टीको स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्नेछन्।

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अधिवेशन सञ्चालन गर्दा स्थानीय अवस्था र अनुकूलतालाई ध्यानमा राख्ने जनाएको छ।

जिल्ला र प्रदेश अधिवेशनको मिति पछि

कांग्रेसले पहिलो चरणमा वडा, गाउँ–नगरपालिका तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशनको समयतालिका सार्वजनिक गरेको हो। जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिका तय गरिएको छ।

यसअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत ११ गतेको निर्णयअनुसार १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। पछिल्लो समय भदौ १० गते आएको भोटेकोशी बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण विभिन्न जिल्ला र क्षेत्रबाट प्राप्त राय, सुझाव र सल्लाहलाई समेत ध्यानमा राख्दै अधिवेशनका प्रारम्भिक चरणका कार्यक्रम परिमार्जन गरिएको समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ।

May be an image of text

May be an illustration of map, blueprint, floor plan and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया