काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गर्न खोजेको आरोप लगाएका छन्। उनले आन्दोलनको इतिहास परिवर्तन गर्ने प्रयास नगर्न र अझै समय रहेको भन्दै पुराना दलका नेताहरूलाई सुध्रिन आग्रह गरेका छन्।
जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले भदौ २३ गतेको आन्दोलनलाई इतिहासको महत्वपूर्ण घटनाका रूपमा स्मरण गर्नुपर्ने बताए।
‘इतिहास कसैले फेरेर फेरिँदैन,’ भन्दै उनले आन्दोलनलाई अपमान गर्ने प्रयासले देशका जनताको भावनाको समेत अपमान हुने बताए। पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुने उनको भनाइ थियो।
गुरुङले आफूहरू सत्ता र शक्तिको लोभमा नभई जनताको अपेक्षा पूरा गर्न सरकारमा आएको दाबी गरे। सरकारका सबै मन्त्रीहरू आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै उनले आफूबाट कुनै कमजोरी नहोस् भनेर निरन्तर सचेत रहने बताए।
उनले सुशासनको मागसहित सडकमा उत्रिएका युवामाथि तत्कालीन सरकारले बल प्रयोग गरेको आरोप पनि लगाए। जेनजी आन्दोलनका माग र भावनालाई सम्बोधन गर्ने गरी वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले पुराना राजनीतिक शक्तिहरूलाई विगतको सोचबाट बाहिर निस्केर बदलिँदो जनअपेक्षा र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्न आग्रह गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया