काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान गर्ने कामले तीव्रता पाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो । मन्त्रालयले गत भदौ १० मा आएको विनासकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो ।
विनासकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो । यसैक्रममा मङ्गलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । यस्तै, विद्युत् सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत दुई किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइए छ ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका जनाइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया