भाद्र २४, २०८३ बुधबार September 9, 2026

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध प्रभावकारी राजनीतिक विकल्प निर्माण गर्ने आठ महिनादेखिको प्रयास समाप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, २४ भदौ (रासस/एएफपी): प्रधानमन्त्री सानाए ताकाइचीको लोकप्रिय सरकारको सामना गर्न प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि जापानको विपक्षी खेमा थप विभाजित बनेको छ । यसैबीच, प्रमुख विपक्षी दलले बुधबार आफूलाई विघटन गर्ने घोषणा गरेको छ ।

‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आफ्ना राजनीतिक गतिविधि बन्द गर्ने निर्णय गरेको दलका प्रमुख जुन्या ओगावाले पत्रकार सम्मेलनमा बताउनुभयो । यससँगै ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध प्रभावकारी राजनीतिक विकल्प निर्माण गर्ने आठ महिनादेखिको प्रयास समाप्त भएको छ ।

“बाँकी रहेका आर्थिक दायित्व चुक्ता गरेपछि हामी पार्टी विघटन गर्नेछौँ,” ओगावाले भन्नुभयो । ताकाइची सरकारविरुद्ध थप बलियो र एकीकृत विपक्षी शक्ति निर्माण गर्ने तथा दुई प्रमुख विपक्षी समूहलाई एकीकृत गर्ने उद्देश्यले जनवरीमा यो मध्यमार्गी दल गठन गरिएको थियो । ती समूहमा एलडीपीको पूर्व गठबन्धन साझेदार कोमेइतो र कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे) थिए ।

फेब्रुअरीमा भएको आमनिर्वाचनमा नयाँ दलले अपेक्षाअनुसार नतिजा ल्याउन सकेन । ४६५ सदस्यीय तल्लो सदनमा सेन्ट्रिस्ट रिफर्म एलायन्सले ४९ सिट मात्र जित्न सक्यो । पुनःनिर्वाचन लडेका उसका १०० भन्दाबढी बहालवाला सांसदसमेत पराजित भए ।

यसको विपरीत, एलडीपीले १०० भन्दाबढी सिट थप्दै तल्लो सदनमा कुल ३१६ सिट जित्यो । मध्यमार्गी दलका केही सदस्य आफ्ना पुराना दलमा फर्कने वा नयाँ राजनीतिक दल गठन गर्ने अपेक्षा गरिएको छ ।

पार्टी औपचारिक रूपमा विघटन भए पनि यसका सदस्यले तल्लो सदनमा छुट्टै संसदीय समूह गठन गरेर एलडीपीको बलियो विकल्प निर्माणका लागि प्रयास जारी राख्ने ओगावाले बताउनुभयो ।

बौद्ध संस्थाको समर्थन प्राप्त शान्तिवादी दल कोमेइतोले गत वर्ष अक्टोबरमा एलडीपीसँगको २६ वर्ष लामो गठबन्धन अन्त्य गरेको थियो । राजनीतिक चन्दासम्बन्धी विवादपछि चन्दा सङ्कलनका नियम कडा बनाउन एलडीपीले अस्वीकार गरेको भन्दै कोमेइतोले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया