सिन्धुपाल्चोक, २४ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए । चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो ।
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई यही भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो । सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना, भदौ २२ गते १०६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएका हुन् ।
सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको नेतृत्वमा १५ जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले विपद्का कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार तथा स्वदेश फिर्तीमा आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिनुभयो ।
उनीहरूलाई स्थानीय तह तथा विभिन्न सङ्घ–संस्थासँगको समन्वयमा सवारीसाधनको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र अरनिको यातायात प्रालिले यात्रुबाहक गाडी व्यवस्थापन गरी काठमाडौँसम्म पु¥याउने व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुला रहेको छ ।
रसुवामा गएको बाढीका कारण ठूलो सङ्ख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ । बाढीका कारण चीनतर्फ करिब आठ सय नेपाली फसेको बताइएको छ । उनीहरूलाई क्रमशः तातोपानी नाका हुँदै नेपाल ल्याउने काम भइरहेको छ ।
“केरुङमा करिब १७ सय नेपाली रहेको भन्ने जानकारी चीनको ‘काउन्टर पार्ट’मार्फत हामीलाई जानकारीमा आएको छ,” सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले भन्नुभयो, “उहाँहरूलाई तातोपानी नाका हँुदै सुरक्षित रूपमा काठमाडौँसम्म पु¥याइने छ । उहाँहरूको आउने क्रम जारी नै छ ।” चिनियाँ पक्षले उहाँहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर प्रशासनको जिम्मा लगाउने गरेको उहाँको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया