नयाँदिल्ली, भदौ २६ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुग्नुभएको छ । शनिबारदेखि सुरु हुने सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्ध, विश्वव्यापी व्यापार अस्थिरता तथा ऊर्जा सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । चीनका राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन भारत आउँदै हुनुहुन्छ । सन् २०१९ पछि उहाँको यो पहिलो भारत भ्रमण हो ।
भारत-चीन सीमामा घातक झडप भएको छ वर्षपछि हुन लागेको भ्रमणलाई दुई देशबिच सम्बन्ध सुधारको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । यद्यपि सीमा विवाद, व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धाका कारण अविश्वास अझै कायम छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपति पुटिनसँग वार्ता गर्नुहुनेछ । रुस भारतको महत्वपूर्ण रणनीतिक साझेदार तथा प्रमुख इन्धन आपूर्ति कर्ता रहँदै आएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुहुने अपेक्षा गरिएको छ । ब्रिक्सको विस्तारसँगै मध्यपूर्वका विषयमा सदस्य राष्ट्रबिच मतभिन्नता बढेको छ । भारतको अब्जर्भर रिसर्च फाउन्डेसनका हर्ष वी पन्तले खाडी क्षेत्रको द्वन्द्व यस पटकको सम्मेलनमा मुख्य विभाजनको विषय बन्न सक्ने बताउनुभयो । क्यापिटल इकोनोमिक्सका सिलान शाहले इरानमा जारी युद्धले विस्तारित ब्रिक्सको एकताको परीक्षा लिने बताउनुभयो ।
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान, साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । भारतले इरान र इजरायलसँगको सम्बन्ध तथा अमेरिकासँगको रणनीतिक साझेदारीलाई सन्तुलनमा राख्दै आएको छ । यसैबिच भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले यसै महिना किएभ भ्रमण गर्नुभएको थियो । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया