भाद्र २७, २०८३ शनिबार September 12, 2026

प्रधानसेनापति सिग्देल चीन जाँदै, सैन्य सहकार्यदेखि रणनीतिक सम्बन्धसम्ममा चासो

नेपाल–चीन सैन्य सम्बन्ध, विपद् व्यवस्थापन, सैनिक तालिम तथा द्विपक्षीय सुरक्षा सहकार्यका विषयमा छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणको तयारीमा जुटेका छन्।  प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हुने जनाइएको छ।

सैनिक स्रोतका अनुसार सिग्देल यहि भाद्र २८देखि असोज ३ गते सम्म एक हप्ताको चीन भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले चिनियाँ जनमुक्ति सेना (पीएलए)का उच्च अधिकारीसँग भेटवार्ता गर्ने तथा नेपाल–चीन सैन्य सम्बन्ध, विपद् व्यवस्थापन, सैनिक तालिम तथा द्विपक्षीय सुरक्षा सहकार्यका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

सिग्देलले यसअघि चीनबाट भ्रमणको निमन्त्रणा पाए पनि विभिन्न कारणले भ्रमण हुन सकेको थिएन। अहिले भ्रमणको तयारी अघि बढेको हो।

नेपाल र चीनबीचको सैनिक सम्बन्ध पछिल्ला वर्षमा विपद् व्यवस्थापन, मानवीय सहायता, तालिम तथा संयुक्त सैन्य अभ्यासमार्फत थप विस्तार हुँदै आएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्याससमेत हुँदै आएको छ।

भोटेकोशी बाढीपछि नेपाली सेनाले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियानमा पनि अन्तर्राष्ट्रिय तथा प्राविधिक सहयोगको आवश्यकता देखिएको अवस्थामा सिग्देलको चीन भ्रमणलाई थप चासोका साथ हेरिएको छ।

प्रधानसेनापति सिग्देलले यसअघि बाढी प्रभावित रसुवा र नुवाकोट पुगेर सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारको अनुगमन गर्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ उद्धार कार्य अघि बढाउन निर्देशन दिएका थिए।

नेपाल–चीन सैन्य सम्बन्धलाई नयाँ चरणमा लैजाने सम्भावित भ्रमणका रूपमा सिग्देलको चीन यात्रा महत्वपूर्ण मानिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया