काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीनमा हुन गइरहेको एक कार्यक्रममा भाग लिनका लागि सेनापति सिग्देल आइतबार चीन प्रस्थान गरेका हुन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार असोज १ गतेसम्म प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहनेछन् । ‘प्रधानसेनापति अशोकराज सिग्देल चीनको निमन्त्रणामा भदौ २८ देखि असोज १ गतेसम्म हुने औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका दौरान प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने ‘दी १३औँ बेइजिङ सियाङसान फोरमु मा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको छ,’सेनाले भनेको छ ।
प्रधानसेनापतिको चीन भ्रमणले दुई देशबीच आपसी सैनिक सम्बन्ध बिस्तार हुने विश्वास रहेको सेनाले जनाएको छ । ‘भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’सेनाले भनेको छ।
सिग्देलको चीन भ्रमणका क्रममा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेको पनि सेनाले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया