काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संघीय संसद्को समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा संघीय संसद्का कामकारबाहीलाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको थियो। पछिल्लो समय संसदीय कामकारबाहीमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा संसद्का गतिविधिलाई थप डिजिटल बनाउने तथा उपलब्ध प्रविधिको प्रभावकारी प्रयोग गर्ने विषयमा दुवैबीच विचार आदानप्रदान भएको बताइएको छ।
विशेषगरी ‘डिजिटल संसद्’ निर्माणको अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउने विषय भेटवार्ताको महत्वपूर्ण एजेन्डा बनेको थियो। संसद्का बैठक, निर्णय, विधेयक, समितिका गतिविधि तथा अन्य संसदीय दस्तावेजलाई प्रविधिमार्फत सहज, छिटो र व्यवस्थित रूपमा उपलब्ध गराउने गरी आवश्यक प्रणाली विकास गर्ने विषयमा छलफल भएको जनाइएको छ।
भेटमा संघीय संसद्को चालु अधिवेशनका कामकारबाहीको समीक्षा समेत गरिएको थियो। प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट भएका काम, छलफल तथा विधायिकी प्रक्रियाको अवस्थाका विषयमा समीक्षा गर्दै बाँकी कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा कुराकानी भएको थियो।
त्यसैगरी चालु अधिवेशन अन्त्य गर्ने विषयमा समेत छलफल भएको छ। अधिवेशन अन्त्य गर्नुअघि सम्पन्न गर्नुपर्ने संसदीय कामकारबाही, बाँकी रहेका विषय तथा आवश्यक प्रक्रियाका बारेमा दुवै सदनका प्रमुखबीच विचारविमर्श भएको बताइएको छ।
संघीय संसद्का दुई सदनबीच समन्वयलाई थप प्रभावकारी बनाउँदै संसदीय गतिविधिलाई परिणाममुखी बनाउने विषयमा समेत भेटमा कुराकानी भएको थियो। प्रतिनिधिसभा र राष्ट्रिय सभाले आ–आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने क्रममा आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि जोड दिइएको जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया