भाद्र ३१, २०८३ बुधबार September 16, 2026

मक्कालाई लक्षित गरेको आरोपपछि साउदीको चेतावनी

हुथी पोलिटब्युरोका हाजेम अल–असदले मक्कालाई लक्षित गरेको साउदी दाबी अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रियाद, ३१ भदौ  : यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको आरोप लगाउँदै साउदी नेतृत्वको गठबन्धनले पवित्रस्थलको सुरक्षालाई ‘रेड लाइन’ भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । हुथीहरूले भने मक्कातर्फ ड्रोन पठाएको साउदी दाबीलाई ‘झूट’ भन्दै अस्वीकार गरेका छन् ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले एक्समार्फत सार्वजनिक गर्नुभएको विज्ञप्तिमा दुई पवित्र मस्जिद र तीर्थयात्रीको सुरक्षा ‘रेड लाइन’ भएको उल्लेख गर्दै हुथीविरुद्ध आवश्यक तथा निवारक कदम चाल्न नहिचकिचाउने बताउनुभएको छ । इस्लामिक सहयोग सङ्गठनले पनि घटनाको निन्दा गरेको छ ।

इरान समर्थित हुथी र साउदी समर्थित यमनी सरकारबीच जुलाईदेखि पुनः चर्किएको द्वन्द्वले क्षेत्रीय तनाव बढाएको छ । हुथीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्नुका साथै लाल सागरमा साउदी जहाजलाई लक्षित गर्ने बताएका छन् । गत साता उनीहरूले यमनको लाल सागर तट र बाब अल–मन्डब जलघाँटीमा आफ्नो नियन्त्रण विस्तार गरेको बताइएको छ ।

हुथी पोलिटब्युरोका हाजेम अल–असदले मक्कालाई लक्षित गरेको साउदी दाबी अस्वीकार गर्दै यस्तो आरोप पहिले पनि लगाइएको र अहिले पनि त्यो ‘झूट’ भएको बताउनुभयो । साउदी अरेबियाले भने मङ्गलबार मक्का र यमनसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा सम्भावित आक्रमणबारे चेतावनी जारी गरेको थियो । यमनबाट भएका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा साउदीको दक्षिणी क्षेत्रमा १३ जना घाइते भएका थिए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सेप्टेम्बरयता यमनको द्वन्द्वका कारण करिब ८२ हजार मानिस विस्थापित भएका छन् । यमनका स्थायी प्रतिनिधि अब्दुल्लाह अल–सादीले हुथीविरुद्ध अन्तर्राष्ट्रिय कारबाहीको आग्रह गर्नुभयो ।

यसैबीच, लाल सागरमा हुथी आक्रमण बढेपछि साउदी युवराज मोहम्मद बिन सलमान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले बाब अल–मन्डब र हर्मुज हुँदै समुद्री आवागमनको स्वतन्त्रता तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । कतारले बाब अल–मन्डब बन्द भए त्यसको परिणाम विश्वका लागि गम्भीर हुने चेतावनी दिएको छ ।

हुथीहरूले साउदी तेल पूर्वाधारलाई समेत लक्षित गर्दै आएका छन् । साउदी गठबन्धनले राज्यको सार्वभौमिकताको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने जनाएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारीले पछिल्लो २४ घण्टामा साउदीले यमनमा ५२ हवाई आक्रमण गरेको र विद्यालय तथा पुललगायत नागरिक संरचना लक्षित गरेको आरोप लगाउनुभयो । यसैबीच, अमेरिकी सैन्य कार्यदलले साउदी सेनालाई गुप्तचर सूचना र सैन्य योजना निर्माणमा सहयोग बढाइरहेको एक अमेरिकी अधिकारीले एएफपीलाई बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया