काठमाडौँ, ३१ भदौः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटका परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा उहाँलाई बधाई दिनुभएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।
यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्नुभयो ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया