धनगढी, असोज २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधान अधिकार, न्याय र जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज रहेको बताउनुभएको छ ।
संविधान दिवसको पूर्व सन्ध्यामा शुक्रबार प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय र सरकारी कार्यालय परिसर सरसफाइ कार्यक्रमको अवसरमा उहाँले संविधानले जनताको सर्वोच्चता स्थापित गरेको बताउनुभएको हो ।
नेपाली जनताको लामो संघर्ष, बलिदान र राष्ट्रिय सहमतिको जगमा निर्माण भएको नेपालको संविधान सबै वर्ग, जाति, क्षेत्र र लिंगका नागरिकको साझा दस्तावेज भएको उहाँको भनाइ छ । मुख्यमन्त्री भट्टले राजनीतिक व्यवस्था परिवर्तनपछि अब नागरिकको अवस्था परिवर्तन गर्ने चरणमा आफूहरू रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्रीले भौतिक फोहोर सफा गरेजस्तै प्रदेशको बजेटमा देखिएका बेथिति र विकृति पनि सफा गर्दै नीति, विधि र पद्धतिमा आधारित बजेट निर्माण उल्लेख गर्नुभयो ।
उहाँले कुनै पनि क्षेत्रको सरसफाइले सभ्यता, संस्कार र संस्कृतिको पहिचान झल्काउने उल्लेख गर्दै भौतिक फोहोरसँगै शासन व्यवस्था, नीति, प्रक्रिया र बजेटमा देखिएका बेथितिको समेत सफाइ आवश्यक रहेको बताउनुभयो ।
प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य गर्दै नीति, विधि र पद्धतिमा आधारित भएर छिट्टै बजेट ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले पछिल्लो समय भएको जनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा क्षति पुगेका कारण सेवाग्राही बस्ने स्थान तथा सरकारी कार्यालय परिसरमा फोहोर जम्मा भएकाले सरसफाइ गरिएको बताउनुभयो ।
त्यस्तै, राज्यमन्त्री जानकीदेवी कुँवरले सरसफाइ स्वच्छता र स्वास्थ्यका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सरसफाइ अभियानलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया