असोज २, २०८३ शुक्रबार September 18, 2026

युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव

सरकारले कम्तीमा एक लाख युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, असोज २ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबार श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाको आयोजनामा निर्माण उद्योगमा कार्यरत श्रमिकका लागि आयोजित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले विगतमा आन्तरिक रोजगारी सिर्जनाका लागि पर्याप्त पहल हुन नसक्दा युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्था आएको बताउनुभएको हो ।

२०७१ सालमा रोजगार नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले अब आवश्यक कानुन निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले कम्तीमा एक लाख युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।

मन्त्री यादवले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सरकारको प्राथमिकतामा रहेको बताउँदै सुरक्षित कार्यस्थल निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सप्तरीका विकाससँग सम्बन्धित विभिन्न विषयमा सरकारको योजनाबारे पनि जानकारी दिनुभयो ।

राजविराजमा लामो समयदेखि विवादमा रहेको बिटौरी जग्गाको लालपुर्जा दसैंअघि नै वितरण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

गजेन्द्र नारायण सिंह अस्पताललाई ५० शय्याबाट एक सय शय्यामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको र अस्पतालका लागि ८० जना स्थायी कर्मचारीको दरबन्दी स्वीकृत भइसकेको उहाँले जानकारी दिनुभयो ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री यादवले छिट्टै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गरिने उल्लेख गर्नुभयो ।

औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर रोजगारी सिर्जनाको केन्द्र बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रमा कपडा उत्पादन गर्ने उद्योग स्थापनाका लागि उद्योगीहरूले स्थलगत निरीक्षण गरिरहेको तथा ट्रान्सफर्मर र टायल उद्योग सञ्चालनका लागि समेत प्रक्रिया अघि बढेको उहाँको भनाइ थियो ।

मन्त्री यादवले राजविराजस्थित कन्या छात्रावास सञ्चालनमा ल्याउन आवश्यक बजेट व्यवस्थापन गरी छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

युवामैत्री नीति तथा कानुन निर्माणमा जोड दिदै उहाँले भन्नुभयो “सिस्टम युवाहरुको हुनुपर्छ, युवाहरूले चाहे अनुसारको ऐन बन्नुपर्छ।” रोजगारी र सीप विकासलाई बलियो बनाउन सरकार गम्भीरतापूर्वक अघि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन, उद्योग स्थापना तथा रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

किसानले समयमा मलखाद र बीऊ नपाउने समस्या समाधान, गजेन्द्र नारायण सिंह अस्पतालको सेवा सुधार, खेतसम्म सिंचाइ सुविधा विस्तार, नदी तथा नालाको उचित व्यवस्थापन र औद्योगिक क्षेत्रको पूर्वाधार सुधार गर्नुपर्ने माग उहाँहरूले राख्नुभयो ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा सहित उद्योगी, श्रमिक, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया