असोज ४, २०८३ आइतबार September 20, 2026

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

प्रक्षेपणपछि चार वटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताइयुआन, असोज ४ गते । चीनले शनिबार चार वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रह प्रक्षेपण गरिएका हुन् ।

बेइजिङ समय अनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च-२डी वाहक रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि चार वटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ । प्रक्षेपण गरिएका उपग्रह पाइसाट-२ शृङ्खलाका १३ देखि १६ नम्बरका उपग्रह हुन् ।

यी सबै उपग्रहमा कृत्रिम एपर्चर राडार प्रविधि प्रयोग गरिएको छ । उक्त प्रविधिले पृथ्वीको सतहको तस्बिर तथा अन्य दूरसंवेदी तथ्याङ्क संकलन गर्न महत्वपूर्ण भूमिका खेल्छ । यी उपग्रह बेइजिङस्थित निजी उपग्रह निर्माण कम्पनी ग्यालेक्सी स्पेसले विकास गरेको हो । कम्पनीले विकास गरेका उपग्रहमा उच्च स्पष्टताका साथ पृथ्वीको सतह अवलोकन गर्न सक्ने उपकरण जडान गरिएको बताइएको छ ।

उपग्रहका प्रमुख डिजाइनर तुआन स्याओका अनुसार नयाँ उपग्रहमा उच्च स्पष्टताका उपकरणसँगै बुद्धिमान प्रशोधन प्रणाली पनि राखिएको छ । यसका कारण उपग्रहले अन्तरिक्षमै संकलन गरेको दूरसंवेदी तथ्याङ्कलाई वास्तविक समयमा प्रशोधन गर्न सक्ने छ ।

सामान्यतया उपग्रहले पृथ्वीबाट तथ्याङ्क संकलन गरेपछि त्यसलाई प्रशोधनका लागि पृथ्वीमा पठाउने गर्छ। तर नयाँ प्रविधिका कारण यी उपग्रहले केही तथ्याङ्कलाई अन्तरिक्षमै प्रशोधन गर्न सक्ने भएकाले आवश्यक सूचना प्राप्त गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिने बताइएको छ ।

कृत्रिम एपर्चर राडार प्रविधिको अर्को महत्वपूर्ण विशेषता भनेको यसले प्रकाशको उपलब्धतामा मात्र निर्भर रहनु नपर्ने क्षमता हो। यस्तो प्रविधिबाट रातको समयमा तथा बादल लागेको अवस्थामा समेत पृथ्वीको सतह सम्बन्धी सूचना संकलन गर्न सकिन्छ । यसले भू-अवलोकन, प्राकृतिक स्रोतको निगरानी, विपद व्यवस्थापन तथा अन्य दूरसंवेदी कार्यमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रक्षेपणका लागि प्रयोग गरिएको लङ मार्च-२ डी दुई चरणको तरल इन्धनयुक्त वाहक रकेट हो । यस रकेटले ७०० किलोमिटर उचाइको सूर्यसमकालिक कक्षमा करिब १.३ टनसम्मको भार पुर्याउन सक्ने क्षमता राख्छ । शनिबारको यो प्रक्षेपणसँगै चीनको लङ मार्च वाहक रकेट शृङ्खलाको कुल उडान संख्या ६६८ पुगेको छ । लङ मार्च रकेट शृङ्खला चीनको अन्तरिक्ष कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका उपग्रह तथा अन्य अन्तरिक्ष उपकरणलाई कक्षमा पुर्याउन प्रयोग हुँदै आएको छ । रासस/सिन्ह्वा 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया