काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि शनिबार र आइतबार विभिन्न जिल्लामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार अधिकांश स्थानमा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने निर्धारित समयमा वडा अधिवेशन हुन सकेन। विपद्का कारण जनजीवन प्रभावित हुनुका साथै संगठनात्मक तयारीमा समेत कठिनाइ भएपछि ती जिल्लाको अधिवेशन स्थगित गरिएको हो।
कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा र सुनसरीका अधिकांश वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। मोरङको क्षेत्र नम्बर ६ बाहेकका वडामा पनि अधिवेशन सम्पन्न भएको छ।
त्यसैगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार केही जिल्लाका बाँकी वडामा सोमबार पनि अधिवेशन प्रक्रिया अघि बढाइनेछ। सप्तरीका क्षेत्र नम्बर २ र ४, सर्लाहीको क्षेत्र नम्बर २, रौतहटको क्षेत्र नम्बर १ तथा पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढिरहेको सदस्य–सचिव कटुवालले जानकारी दिएका छन्।
निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङको क्षेत्र नम्बर ६, रौतहटको क्षेत्र नम्बर १, सर्लाहीको क्षेत्र नम्बर २ र पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा बाँकी वडा अधिवेशन सोमबार सञ्चालन हुनेछ।
असोज ४ गते सम्पन्न हुन नसकेका अन्य वडाको अधिवेशनलाई पनि असोज ५ गते निरन्तरता दिइने निर्वाचन समितिले जनाएको छ।
वडा अधिवेशनबाट निर्वाचित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिले कांग्रेसको आगामी महाधिवेशनका लागि तल्लो तहदेखि प्रतिनिधित्व सुनिश्चित गर्नेछन्। वडा तहको अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशनको प्रक्रिया अघि बढ्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया