असोज ८, २०८३ बिहिबार September 24, 2026

युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, ८ असोज (रासस/एपी) : इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ ।

करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गर्नुभएका पेजेस्कियानले दिवङ्गत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिर प्रदर्शन गर्नुभएको थियो । उहाँले इरानले आफ्नो रक्षा मात्र गरेको दाबी गर्दै भन्नुभयो, “हामी आतङ्कवादी होइनौँ । हाम्रा निर्दोष जनता कायरतापूर्ण आक्रमणको लक्ष्य बनेका छन्”, अमेरिकातर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “उनीहरूले हामीलाई प्रहार गरे, तर हामीले घुँडा टेकेका छैनौँ ।”

पेजेस्कियानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘नष्ट’ गर्न सकिने चेतावनी दिनुभएको पृष्ठभूमिमा आएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रम र आतङ्कवादसम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै अन्यथा सैन्य कारबाहीसहित विभिन्न विकल्प प्रयोग गर्न सकिने बताउनुभएको छ ।

यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको भेटलाई उहाँले ‘धेरै राम्रो बैठक’ बताउनुभएको थियो । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले त्यस्तो सम्पर्कमा नयाँ कुरा नभएको बताउनुभएको छ । अमेरिकासँगको सम्भावित वार्तालाई लिएर इरानभित्रै पनि मतभेद देखिएको छ । केही नेताले विदेशमन्त्री अब्बास अराघचीको आलोचना गरेका छन् ।

यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण र शासन व्यवस्था अघि बढाउन छ महिनाका लागि दुई अर्ब ४५ करोड अमेरिकी डलरको योजना प्रस्ताव गरेको छ । योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ६६ परियोजना समेटिएका छन् । बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नेछ भने आगामी १० वर्षमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुन सक्नेछ ।

उता, हर्मुज जलघाँटीमा बुधबार अर्को कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको, आगलागीपछि चालकदलले जहाज छाडेको र जहाज डुबेको जनाइएको छ । युद्धका कारण महत्त्वपूर्ण यस जलमार्गमा व्यावसायिक आवागमनसमेत प्रभावित भएको छ ।

यसैबीच, कब्जामा रहेको वेस्ट ब्याङ्कमा अमेरिकी राजदूत येचिएल लेइटरका छोरा तथा इजरायली सेनाका रिजर्भ सैनिक नेरिया लेइटर गम्भीर घाइते हुनुभएको छ । इजरायली अधिकारीका अनुसार एक प्यालेस्टिनी व्यक्तिले बेइट होरोन नजिकको सुरक्षा चौकीमा कार ठोक्काउँदा उहाँ घाइते हुनुभएको थियो । भाग्न खोज्ने ती व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको जनाइएको छ ।

अर्कोतर्फ, इजरायलको निर्वाचन आयोगले अर्को महिना हुने संसदीय निर्वाचनमा प्रमुख अरब राजनीतिक दल तथा उम्मेदवारलाई सहभागी हुन अयोग्य ठहर गर्ने पक्षमा मतदान गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसहित दुई दक्षिणपन्थी दलको अनुरोधमा भएको उक्त निर्णयविरुद्ध रामका नेता मन्सुर अब्बासले सर्वोच्च अदालतमा अपिल गर्ने बताउनुभएको छ । अक्टोबर ७, २०२३ को हमास नेतृत्वको आक्रमणपछि इजरायलमा हुन लागेको यो पहिलो संसदीय निर्वाचन हुनेछ ।

राष्ट्रसङ्घ/सोल, ८ असोज (रासस/एपी/एएफपी) : युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिनुभयो ।

जेलेन्स्कीले घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी गर्नुभयो । उहाँका अनुसार सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले सैनिकहरूलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा प्रत्यक्ष पुष्टि गरेको छैन । यद्यपि युक्रेन तथा सम्बन्धित पक्षसँग सैनिकहरूको स्वतन्त्र इच्छाको सम्मान र अन्तर्राष्ट्रिय कानून तथा मानवीय सिद्धान्तअनुसार विषय टुङ्ग्याउन परामर्श भइरहेको जनाएको छ । सैनिकहरूको स्थानान्तरणसम्बन्धी विवरण भने संवेदनशील विषय भन्दै सार्वजनिक गरिएको छैन ।

रुस र उत्तर कोरियाले सन् २०२५ को अप्रिलमा आफ्ना सैनिकले कुस्र्क क्षेत्रमा युक्रेनविरुद्ध सँगै लडेको पुष्टि गरेका थिए । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले सन् २०२४ को अक्टोबरदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको र त्यसमध्ये करिब दुई हजारको मृत्यु भएको अनुमान गरेको थियो ।

यसैबीच, जेलेन्स्कीले फिनल्यान्ड, अस्ट्रेलिया तथा अन्य साझेदारसँग ड्रोन र सुरक्षा सहकार्य विस्तार भइरहेको बताउनुभयो । क्यानाडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्न सक्ने चेतावनी दिँदै उहाँले रुसले युक्रेनका नागरिक ताप तथा इन्धन पूर्वाधारमा आक्रमण गर्दै आएको दाबी गर्नुभयो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न वासिङ्टनले दबाब दिइरहेको बताउनुभएको केही घण्टापछि उहाँको यस्तो भनाइ आएको हो ।

जेलेन्स्कीले युक्रेनको उद्देश्य रुसको पेट्रोल तथा डिजेल आपूर्ति नष्ट गर्नु नभई युद्धका लागि आवश्यक आम्दानीको प्रमुख स्रोतमा असर पार्नु रहेको स्पष्ट पार्नुभयो । उहाँले रुससँगको व्यापारबाट प्राप्त आम्दानीले युद्ध लम्बिन सक्ने दाबी गर्दै व्यापार सीमित गर्न आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार
सेनाको सर्पदंश उपचार केन्द्रबाट एक हजार दुई सयभन्दा बढी लाभान्वित
२०८३ असोज ८, बिहिबार
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
२०८३ असोज ८, बिहिबार